नेकपा समर्थित दुई हजारभन्दा बढी व्यवसायीद्वारा पार्टी सदस्यबाट राजीनामा

रूपन्देहीमा रहेका ३५ वटा व्यावसायिक संघसंस्थामा रहेका दुई हजार तीन सयभन्दा बढी नेकपाका पार्टी सदस्यहरूले मंगलबार सामूहिक राजीनामा बुझाएका हुन्।
व्यवसायीहरूले नेकपा नेतृत्वको सरकार र पार्टी अध्यक्ष समेतले ह्विप जारी गरेर बुटवलमा रहेको राजधानीलाई अन्यत्र सार्ने निर्णय गरेकाले उक्त पार्टीमा रहन नसक्ने जनाएका छन्।
बुटवलमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा रूपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोराले पार्टीले निरंकुश तरिकाबाट राजधानी सार्ने निर्देशन गरेको बताए।
‘हाम्रा माननीयहरूलाई मत राख्न समेत वञ्चित गरियो,’ बोहोराले भने, ‘यसरी निरंकुशता स्वीकार गरेर पार्टीमा बस्नुको कुनै औचित्य नभएकाले राजीनामा दिने निर्णय गरेका हौं।’
होटल तथा रेस्टुरेन्ट व्यवसायी महासंघका पूर्वअध्यक्ष माधव नेपालले राजधानी सार्ने निर्णयले पार्टीलाई सरकारमा पुर्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका व्यवसायी मतदाताको अवमूल्यन भएको बताए।
नेपाल उद्योग परिसंघका प्रदेश संयोजक एजाज आलमले निर्वाचनका बेला व्यवसायीको काँध चढेर चुनाव जितेका पार्टीका नेताहरूसँगै बस्नुको कुनै औचित्य नभएको बताए।
प्रदेश ५ को अस्थायी राजधानी बुटवलमा छ।
असोज २०, २०७७ मंगलबार १३:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।