संसद रणभूमिमा परिणत हुँदा

संसद रणभूमिमा परिणत हुँदा

त्यही संसद रणभूमिमा परिणत भए के होला ? सोमबार अपराह्न प्रदेश ५ को संसद भने रणभूमिमा परिणत भयो।

संसदमा नाराबाजी र तोडफोडका बीच पनि बैठक चलिरहेको थियो भने बाहिर नेपालगन्ज रोडमा नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लगायत दलहरुले विरोध गरिरहेका थिए। संसद भवन वरिपरि तथा बुटवल र आसपासको क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरेर सुरक्षा व्यवस्था कडा पारिएको थियो।

गत शुक्रबार प्रदेश ५ सरकारले स्थायी राजधानी दाङको देउखरी क्षेत्रलाई बनाउने र नाम लुम्बिनी राख्न संसदमा प्रस्ताव पेस गरेको थियो। नामको विषयमा विवाद नभए पनि राजधानीका विषयमा असन्तुष्टि जनाउँदै रुपन्देहीमा निरन्तर आन्दोलन चलिरह्यो।

सोमबार १ बजे प्रदेशसभाको बैठक सुरु हुनेबित्तिकै विशेष समय लिएर कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले प्रदेशको राजधानी अस्थायी राजधानी रहेको बुटवललाई नै कायम गर्नु पर्ने माग गरे। उनले प्रदेश सरकारले हठातमा निर्णय गरेर बहुसंख्यक जनताको मर्म विपरित दाङ राजधानी प्रस्ताव गरिएको आरोप लगाए।

कनौडिया बोलिसकेपछि पनि कांग्रेस सांसदले नाराबाजी गरे। जनता समाजवादीका केही सांसद पनि नाराबाजीमा उत्रिए र रोस्टम घेराउ गरे। बैठक नाराबाजीबीच सुचारु हुने संकेत नदेखिएपछि सभामुख पूर्णबहादुर घर्तीले २ बजेसम्म बैठक स्थगित गरे। तर २ बस्ने भनिएको बैठक ३ बजे मात्र बस्यो।

मुख्यमन्त्री शंकर पोखरेलले प्रमुख प्रतिपक्षी कांग्रेसका संसदीय दलका नेता कनौडिया, सचेतक निर्मला क्षेत्री लगायतसँग संसद अवरोध नगर्न आग्रह गरे। तर, सहमति भएन, असहमतिमै बैठक सुरु भयो।

निरन्तरको सडक आन्दोलन, प्रमुख प्रतिपक्षी दलका अधिकांश र नेकपाकै सांसदहरु सरकारी निर्णयको विरुद्ध आवाज बुलन्द भइरहेको बेला मुख्यमन्त्री पोखरेलले पेलेर अगाडि बढ्ने रणनीति लिए।

सभामुख घर्तीले बैठक सुरु गर्नेबित्तिकै कांग्रेस सांसद र जसपाका केही सांसदले रोस्टम घेराउ गरे। विरोधका बीच सभामुख घर्तीले आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलाई प्रदेशको नाम र राजधानीबारे छलफल गर्न संसदमा प्रस्ताव पेस गर्न अनुमति दिए। धकेलाधकेलबीच रोस्टममा पुगेर मन्त्री केसीले प्रस्ताव पेस गरे। 

फ्लोरमा आक्रोशित कांग्रेस सांसद वसिउद्दिन खान, अष्टपुजा पाठक, बैजनाथ कलवार र जनता समाजवादी पार्टीका सचेतक सन्तोषकुमार पाण्डेयका आक्रोश कुर्सी र टेबुलमा बज्रियो। प्रस्तावलाई औपचारिकता दिने सरकारले दण्डभेदको नीति अख्तियार गर्यो भने विरोधीहरु तोडफोडमा उत्रिएको दृश्य देखियो।

खानपछि अन्य सांसदले पनि तोडफोड गरे। यता कांग्रेस सचेतक निर्मला क्षेत्री, पुष्पा थरुनी र रमा अर्याल माइक तोडफोडमा सक्रिय देखिए।विरोधका बावजुत मन्त्री केसीले प्रस्तावमाथि छलफल गरियोस् भन्ने प्रस्ताव संसदमा पेस गरे।

सांसदहरुले ‘संसदीय मर्यादा पालन गर’, ‘पक्राउ परेका नेता तथा कार्यकर्ता रिहाई गर’, ‘दुईतिहाईको दम्भ नदेखाऊ’ जस्ता नारा लगाउँदै कुर्सी, टेबुल र माइक तोडफोड गरेका थिए। तोडफोड र रोस्टम घेराउ भए पनि सभामुख घर्तीले संसद बैठक संचालन गरे। र, प्रस्तावमाथि भनाइ राख्न सांसदहरुलाई समय दिए।

नेकपाका सदस्य भोजप्रसाद श्रेष्ठले सरकारको प्रस्ताव सही नभएको भन्दै जनभावनाको कदर गरी बुटवललाई नै स्थायी राजधानी तोक्न माग गरे। सभामुखले दिएको ५ मिनेटको समय सकिएपछि उनको माइक काटियो। तर, श्रेष्ठ बोलिरहे। विरोध गर्दै झण्डै बैठकको अन्त्यसम्म हात उठाएरै विरोध जनाइरहे उनले।

नेकपाका सांसद विष्णु पन्थीले प्रदेशको स्थायी राजधानी कपिलवस्तु उपयुक्त हुने भन्दै सरकारको प्रस्ताव सच्याउनु पर्ने माग गरे। उनले सबै हिसावले कपिलवस्तु राजधानीका लागि उपर्युक्त भएको दाबी पेस गरे।

नेकपाकै सांसद हरि रिजालले प्रदेश सरकारले विशेष सोचका साथ राजधानी र लुम्बिनी प्रदेश नाम प्रस्ताव गरेको भन्दै यसलाई संसदबाट पास गर्नु पर्ने धारणा राखे।

राष्ट्रिय जनमोर्चाकी तारा जिसीले यस्तै होला भनेर पार्टीले संघीयता खारेजीको माग गरेको जनाइन्। उनले स्थायी राजधानीको विषयमा रुपन्देहीमा देखिएको विरोध टेलर मात्र भएको र संघीयताको देशभरको फिल्म देख्न बाँकी रहेको बताइन्। संघीयता विरोधी उनले देउखुरी क्षेत्र राजधानीका लागि उपयुक्त भएको भन्न छोडिनन्।
 
जनता समाजवादी पार्टी (जसपा)का विजयबहादुर यादवले दाङ राजधानी राख्ने प्रस्ताव स्वागतयोग्य भएको बताए। 
सोमबार ७ जना सांसदले प्रस्तावमाथिको छलफलमा भाग लिएका छन्। छलफलमा भाग लिएका सांसदले मिश्रित प्रतिक्रिया दिएका छन्।

छलफलमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री केसीले प्रदेशको नाम र राजधानी सरकारले तोकेअनुसारै हुने बताए। उनले हरेक दृष्टिकोण र वैज्ञानिक ढंगबाट राजधानी सही ठाउँमा तोकिएको दाबी गरे। संसदमा कांग्रेस र जसपाका सांसदले गरेको तोडफोड निन्दनीय उनले बताए।

बैठक मंगलबार दिउँसो १२ बजे बस्ने गरि स्थगित भएको छ। मुख्यमन्त्री पोखरेल नेकपा संसदीय दलका नेता पनि हुन्। पोखरेलले नेकपाका सांसदहरुलार्ई सरकारका प्रस्तावको पक्षमा मतदान गर्न ह्विप जारी गरेका छन्, यस अर्थमा उनी ढुक्क देखिन्छन्।

असोज १९, २०७७ सोमबार २१:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।