दिल्ली र बैंग्लोरबीच शीर्ष स्थानको होड 

दिल्ली र बैंग्लोरबीच शीर्ष स्थानको होड 
तस्बिर : फस्टस्पोटर्स डट कम।

जारी प्रतियोगितामा समान चार खेल खेलका यी दुवै टोली आजको खेलमा जित हासिल गरेर अंकतालिकाको शीर्ष स्थानमा उक्लने दाउमा छन्। 

अंकतालिकामा समान ६ अंक बटुलेका दिल्ली र बैंग्लोर क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। उनीहरू नेट रनरेटका आधारमा दोस्रो र तेस्रो स्थानमा छन्। 

यता अंकतालिकामा शीर्ष स्थानमा रहेको मुम्बईको पनि समान ६ अंक छ। दिल्ली र बैंग्लोरभन्दा एक खेल बढी खेलेको मुम्बई रनरेटका आधारमा शीर्ष स्थानमा पुगेको हो। 

यस्तोमा आजको खेल जित्ने टोली शीर्ष स्थानमा पुग्ने छ। 

हेड टु हेडमा बैंग्लोर अघि 

यी दुवै टोलीबीच हेड टु हेड नतिजामा बैंग्लोर दिल्लीभन्दा बलियो देखिएको छ। भारतीय समाचार एजेन्सीका आधारमा यी दुवै टोलीबीच भएका २४ खेलमध्ये बैंग्लोरले १५ खेलमा जित हासिल गरेको छ। दिल्लीले भने बैंग्लोरविरुद्धका ७ खेलमा मात्रै सफलता पाएको छ। 

युएईका प्रदर्शनका आधारमा पनि बैंग्लोरको पल्ला भारी देखिएको छ। त्यहाँ यी दुवै टोलीबीच भएका एक खेलमा बैंग्लोरले जित हासिल गरेको छ। 

प्रतियोगितामा दुवैको नतिजा समान

जारी प्रतियोगितामा दुवै टोलीको नतिजा समान छ। दुवै टोलीले प्रतियोगितामा खेलेका ४–४ खेलमध्ये ३–३ मा जित हासिल गरेका छन्। यस्तै समान १–१ खेलमा पराजय भोगेका छन्। 

दुवै टोलीको ब्याटिङ र बलिङ राम्रो छ। बैंग्लोरमा विराट कोहली, आरोन फिन्च, एभी डिभिलियर्सलगायत भरपर्दा ब्याट्सम्यान छन् भने दिल्लीमा शिखर धवन, श्रेयस ऐयर, रिसभ पन्तजस्ता ब्याट्सम्यानको टोली छ। 

दुवै टोलीमा राम्रा बलर पनि छन्। बैग्लोरको टोलीमा युजभेन्द्र चहल, नवदीप सैनी, एडम जम्पालगायत बलर छन्।  यस्तै, दिल्लीमा कागिसो रवाडा, अमित मिश्रा, रविचन्द्र आश्विन, एनरिच नोर्टजेलगायत बलरको टोली छ। 

दुवै टिममा भरपर्दा खेलाडी र प्रदर्शन नतिजा समान भएकाले कसले खेल जित्छ भन्ने अनुमान लगाउन सहज देखिँदैन। 

असोज १९, २०७७ सोमबार १३:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।