मुम्बईको तेस्रो जित, हैदरावाद ३४ रनले पराजित 

मुम्बईको तेस्रो जित, हैदरावाद ३४ रनले पराजित 
खेल सकिएपछि खुसी मनाउँदै मुम्बई इण्डियन्सका खेलाडी। तस्बिर : आइपिएल टि २० डट कम। 

काठमाडौं : इण्डियन प्रिमियर लिग (आइपिएल)मा साविक विजेता मुम्बई इण्डियन्सले तेस्रो जित निकालेको छ। 

संयुक्त अरब इमिरेट्स (युएई)मा आज (आइतबार) सम्पन्न खेलमा उसले सनराइजर्स हैदरावादलाई ३४ रनले हराउँदै तेस्रो जित निकालेको छ।  

दुई सय ९ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ७४ रन मात्रै बनाउन सक्यो। उसका लागि डेभिड वार्नरले सर्वाधिक ६० रन बनाए। यस्तै, मनिष पाण्डेले ३०, जोनी बेरिस्टोले २५ र अब्दुल सामदले २० रनको योगदान दिए। अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन्। 

बलिङतर्फ मुम्बईका ट्रेन्ट बोल्ट, जेम्स प्याटिन्सन र जसप्रित बुमराहले समान २ विकेट लिए। यस्तै, कुर्नाल पाण्ड्याको नाममा १ विकेट रह्यो। 

त्यसअघि टस जितेर ब्याटिङ थालेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर दुई सय आठ रन जोडेको थियो। 

मुम्बईका लागि क्विन्टन डि ककले सर्वाधिक ६७ रन जोडेको थिए। ३९ बलको सामना गरेका उनले आफ्नो पारीमा चार चौका र चार छक्का हिर्काएका थिए। यस्तै, इशान किसनले ३१, हार्दिक पाण्ड्याले २८ र सूर्यकुमार यादवले २७ रनको योगदान दिएका थिए। क्यारोन पोलार्ड २५ र कुर्णाल पाण्ड्या २० रनमा अविजित रहेका थिए। 

बलिङतर्फ हैदरावादका सन्दीप शर्मा र सिदार्थ कौलले २ २ विकेट लिँदा रासिद खानले १ विकेट चट्काए। 

यी दुवै टोलीले जारी प्रतियोगितामा समान पाँच खेल खेलेका छन्। मुम्बईले तीन खेलमा जित निकालेको छ भने हैदरावादले दुईमा मात्रै सफलता हासिल गरेको छ। 

पञ्जाब र चेन्नई भिड्दै

आज भइरहेको दोस्रो खेलमा किंग्स इलेभन पञ्जाब र चेन्नई सुपर किंग्स प्रतिष्पर्धा गर्दै छन्। पञ्जाबले टस जितेर ब्याटिङ गरिरहेको छ। 

क्रिकइन्फो डट कम

असोज १८, २०७७ आइतबार २०:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।