मुम्बई र हैदरावादको परीक्षा

मुम्बई र हैदरावादको परीक्षा
मुम्बई इण्डियन्सका कप्तान रोहित शर्मा र सनराइजर्स हैदरावादका कप्तान डेभिड वार्नर (दायाँ)। तस्बिर : क्राउडविसडम३६० डट कम।

काठमाडौं : इण्डियन प्रिमियर लिग (आइपिएल)मा आज (आइतबार) पहिलो खेलमा मुम्बई इण्डियन्स र सनराइजर्स हैदरावादबीच प्रतिष्पर्धा हुँदैछ। 

जारी प्रतियोगितामा समान चार खेल खेलका यी दुवै टोली आजको खेलमा जित हासिल गर्ने दाउमा छन्। 

जारी सिजनमा मुम्बई बलियो टोली मानिन्छ। ऊ साविक विजेता पनि हो। उसको ब्याटिङ र बलिङ दुवै पक्ष राम्रो छ। ‘हिटम्यान’को उपमा पाएका रोहित शर्माको कप्तानीमा रहेको मुम्बईको टोलीमा क्विन्टन डि कक, सूर्यकुमार यादव, इशान किसनसँगै आक्रामक ब्याट्सम्यान छवि बनाएका अलराउन्डर क्यारोन पोलार्ड र हार्दिक पाण्ड्या छन्। 

जारी प्रतियोगितामा सर्वाधिक रन बनाउने सूचीमा ‘हिटम्यान’ सातौं स्थानमा छन्। क्रिकइन्फो डट कमका अनुसार उनले ४ खेलबाट एक सय ७० रन बनाएका छन्। यो सूचीमा १० औं स्थानमा रहेका पोलार्डले समान ४ खेलबाट एक सय ३८ रन जोडेका छन्। 

यस्तै, बलिङमा जसप्रित बुमराह, ट्रेन्ड बोल्ट, जेम्स पिटरसन, राहुल चहरले राम्रो प्रदर्शन गरिरहेका छन्। 

जारी सिजनमा सर्वाधिक विकेट लिनेको सूचीमा बोल्ट र चहर क्रमशः पाँचौं र छैटौं स्थानमा छन्। उनीहरूले समान ६ विकेट लिएका छन्। 

जारी प्रतियोगितामा प्रदर्शनका आधारमा  मुम्बईको तुलनामा हैदरावाद कमजोर देखिएको छ।

क्रिकइन्फो डट कमका अनुसार जारी प्रतियोगितामा सर्वाधिक रन बनाउने सूचीमा हैदरावादका डेभिड वार्नर, जोनी बेरिस्टो, मनिष पाण्डे र डेभिड वार्नर क्रमशः १७, १८ र १९ औं स्थानमा छन्। उनीहरूले क्रमशः एक सय १९, एक सय १७ र एक सय १५ रन बनाएका छन्। 

बलरमा हैदरावादका टि नटाराजनले टिमका लागि सर्वाधिक ५ विकेट लिएका छन्। उनी सर्वाधिक विकेट लिने सूचीमा १० औं स्थानमा छन्। यस्तै, ४ विकेट लिएका रासिद खान सर्वाधिक विकेट लिने सूचीको १७ औं स्थानमा छन्। 

जारी प्रतियोगितामा भने दुवै टोलीले समान २ जित हासिल गरेका छन्। 

हेड टु हेडमा बराबरी

हेड टु हेडका आधारमा मुम्बई र हैदरावादको स्तर बराबर छ। भारतीय समाचार एजेन्सीका अनुसार यी दुवै टोलीले आइपिएलका १३ खेलमध्ये ७/७ खेलमा जित हासिल गरेका छन्। 

युएईमा भएको खेलमा भने हैदरावाद अघि देखिएको छ। युएईमा यी दुवै टोलीबीच भएका एक खेलमा हैदरावादले जितेको छ। 

असोज १८, २०७७ आइतबार १३:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।