सन्दीपको टोली दिल्लीको तेस्रो जित

काठमाडौं : इण्डियन प्रिमियर लिग (आइपिएल)मा नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टोली दिल्ली क्यापिटलले जारी प्रतियोगितामा तेस्रो जित हासिल गरेको छ।
संयुक्त अरब इमिरेट्स (युएई)मा आज (शनिबार) राति सम्पन्न खेलमा उसले कोलकाता नाइट राइडर्सलाई १८ रनले पराजित गर्दै तेस्रो जित निकालेको हो।
दुई सय २९ रनको लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर दुई सय १० रन मात्रै बनाउन सक्यो। उसका लागि नितिश रानाले सर्वाधिक ५८ रन बनाए। ३५ बल खेलेका उनले आफ्नो पारीमा चार चौका र चार छक्का प्रहार गरे।
यस्तै, इयान मोर्गन र राहुल त्रिपाटीले दुई सयभन्दा बढीको स्ट्राइक रेटमा क्रमशः ४४ र ३६ रन जोडे। अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्।
बलिङतर्फ दिल्लीका एन्रिच नोर्टजेले सर्वाधिक ३ विकेट लिए। यस्तै, हर्सल पटेलले २ तथा अमित मिश्रा, मार्कस स्टोनिस र कागिशो रवाडाले समान १ विकेट चट्काए।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर दुई सय २८ रन जोडेको थियो।
दिल्लीका लागि कप्तान श्रेयस ऐयरले अविजित रहँदै सर्वाधिक ८८ रन जोडेका थिए। ३८ बलको सामना गरेका उनले आफ्नो पारीमा सात चौका र ६ छक्का हिर्काएका थिए। यस्तै, पृथ्वी सोले ६६, रिसभ पन्तले ३८ र शिखर धवनले २६ रनको योगदान दिएका थिए।
बलिङतर्फ कोलकाताका आन्द्र रसले २ विकेट लिँदा कमलेश चतुर्वेदी र बरुण चक्रवर्तीले १/१ विकेट लिएका थिए।
यी दुवै टोलीले जारी प्रतियोगितामा चार चार खेल खेलेका छन्। दिल्लीले तीनमा जित निकालेको छ भने कोलकाताले दुई खेलमा मात्रै विजय भएको छ।
जारी प्रतियोगितामा सन्दीप दिल्लीको प्लेइन ११ मा अटाएका छैनन्।
बैंग्लोरले राजस्थानलाई हरायो
यसअघि आजै भएको पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले राजस्थान रोयल्समाथि आठ विकेटको जित निकालेको थियो। जारी प्रतियोगितामा बैंग्लोरको पनि तेस्रो जित हो।
क्रिकइन्फो डट कम
असोज १८, २०७७ आइतबार ००:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।