मुम्बईको दोस्रो जित, पञ्जाब ४८ रनले पराजित  

मुम्बईको दोस्रो जित, पञ्जाब ४८ रनले पराजित  
खेल सकिएपछि हात मिलाउँदै मुम्बई इण्डियन्स र किंग्स इलेभन पञ्जाबका खेलाडी। तस्बिर : आइपिएल टि २० डट कम।

संयुक्त अरब इमिरेट्स (युएई)मा आज (बिहीबार) राति सम्पन्न खेलमा उसले किंग्स इलेभन पञ्जाबलाई ४८ रनले पराजित गर्दै दोस्रो जित हासिल गरेको हो। 

१९२ रनको लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४३ रन मात्रै बनाउन सक्यो। उसका लागि निकोलस पुरनले सर्वाधिक ४४ रन जोडे। यस्तै, मयंक अग्रवालले २५ रनको योगदान दिँदा कप्तान केएल राहुलले १७ रन मात्रै बनाउन सके।कृष्णप्पा गोथाम २२ रनमा अविजित रहे। 

बलिङतर्फ मुम्बईका जसप्रित बुमराह, राहुल चहर र जेम्स प्याटिन्सनले २/२ तथा कुर्नाल पाण्ड्या र ट्रेन्ड बोल्टले समान १ विकेट लिए। 

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १९१ रन बनाएको थियो।

मुम्बईका लागि कप्तान रोहित शर्माले सर्वाधिक ७० रन बनाएका थिए। यस्तै, क्यारोन पोलार्ड र हार्दिक पाण्ड्याले विस्फोटक ब्याटिङ गर्दै क्रमशः ४७ र ३० रन बनाए। पोलार्डले २० बलमा ३ चौका र ४ छक्का प्रहार गर्दा पाण्ड्याले ३ चौका र २ छक्का हिर्काएका थिए।

बलिङतर्फ पञ्जाबका सेल्डोन कट्ररेल, मोहम्मद सामी र कृष्णप्पा गोथामले समान १ विकेट लिएका थिए। मुम्बईका एक खेलाडी भने रनआउट भएका थिए। 

जारी प्रतियोगितामा चार खेल खेलको मुम्बईले यसअघि कोलकाता नाइट राइडर्सलाई पराजित गरेको थियो। समान खेल खेलेको पञ्जाबले एक खेलमा मात्रै जित निकाल्न सकेको छ। 

क्रिकइन्फो डट कम

असोज १५, २०७७ बिहीबार २३:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।