प्राविधिक कर्मचारी भर्नाको बाटो खुल्यो

जनकपुरधाम : प्रदेश २ को सरकारले प्रदेशमा प्राविधिक कर्मचारी भर्नाको बाटो खुल्ला गरेको छ।
सोमबार सम्पन्न मन्त्रिपरिषद्को बैठकले प्रदेश लोक सेवा आयोगलाई स्वास्थ्य र इन्जिनियरिङ्ग सेवामा सातौ तह सम्मको भर्ना लिन स्वीकृति दिएको छ।
प्रदेश निजामती सेवा ऐन पारित नहुँदा सम्म संघीय ऐनलाई नै टेकेर हाललाई इन्जिनियर र चिकित्सक भर्ना गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ।
बैठकले लोक सेवा आयोगको ओएनएम पारित गर्नुका साथै लोक सेवाको सचिवमा काम गर्न आन्तरिक मामिला मन्त्रालयका सचिव विरेन्द्र कुमार यादवलाई जिम्मेवारी दिएको छ।
कोरोना महामारीमा प्रदेशमा चिकित्सकको आभाव र विकास निर्माणका लागि इन्जिनियर भर्ना गर्नु पर्ने आवश्यकतालाई ध्यानमा राख्दै प्रदेश सरकारले यी दुबै क्षेत्रमा स्थायी नियुक्तिको प्रक्रिया शुरु गर्न लागेको छ।
प्रदेश लोकसेवा आयोग गठन भएको एक वर्ष पूरा भए पनि त्यसको अनुभूति भने अहिलेसम्म प्रदेशवासीले गर्न सकेका छैनन्।
आयोगले एक वर्षको अवधिमा गरेका कामको प्रतिवेदन प्रदेश प्रमुखलाई बुझाएको छ।
वार्षिक प्रतिवेदनमा २२ बुँदे उपलब्धि उल्लेख गरिएको छ। आयोगले बुझाएको प्रतिवेदनमा विभिन्न सेवाका लागि २३ वटा पाठ्यक्रम मस्यौदा निर्माण, कर्मचारी अचारसंहिता निर्माण, प्रदेश लोक सेवा आयोग नियमावली निर्माण गरिएको उल्लेख छ।
उपलब्धिहरु राजपत्रमा प्रकाशित भने गरिएको छैन। आयोगका कर्मचारीहरुसमेत पूर्ति हुन सकेको छैन।
प्रदेश लोकसेवा आयोग अहिले पनि करार वा काजमा खटाइएका कर्मचारीबाट संचालित छ।
प्रदेश लोकसेवा आयोगका प्रवक्ता गंगेश गुञ्जन झाले आयोगको ऐन, निर्देशिका लगायतका कामहरु गर्नु पनि ठूलै उपलब्धि रहेको दाबी गरे।
उनले कर्मचारी भर्नाका लागि विज्ञापन नखोले पनि सम्पूर्ण आधार तयार गरिसकेको बताए।
असोज १२, २०७७ सोमबार १५:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।