लकडाउनले फर्कायो कृषिमा

धनगढी : परम्परागत कृषि पेशालाई व्यवसायीक बनाउन धगनढी उपमहानगरपालिका–९ का दिनेश चौधरीले भेटेनरी जेटिए पढे।
उनले २०६५ सालमा पढाई पुरा गरेपछि कृषि पेशामा गरे। शुरुवातमै उनी बाढी तथा डुवानका कारण कृषि पेशाबाटै हतोत्साहित भए। पुनः चार जना साथी मिलेर तरकारी खेती गरे तर, सफल भएनन्।
तरकारी खेतीबाट सफलता हात नलागेपछि कृषि पेशालाई भुलेर थारु संस्कृति, कला, रहनसहन, खानपानको संरक्षण गर्ने उद्देश्यले २०७३ साल भदौमा ‘थारु होमस्टे’ संचालन गरे।
होमस्टे सञ्चालन गरेको झण्डै चार वर्षपछि दिनेशलाई पुनः कृषि पेशालेनै आकर्षण गरेको छ। कारण हा,े कोभिड–१९ संगै सरकारले जारी गरेको लकडाउन र निषेधाज्ञा।
‘कृषि पेशामा फर्कन मन थिएन तर, परिस्थितीले पुनः त्यही पेशामा फर्काएको छ’ उनले भने,‘अब यसैले सफल बनाउछ जस्तो लागेको छ।’
सरकारले लकडाउन जारी गरेपछि उनको होमस्टे बन्द भयो। पहिले जस्तो मानिसको चहलपहल हुन छोड्यो। जसले गर्दा उनीले खाली बस्नुपर्ने भयो।
‘लकडाउनको सदुपयोग कसरी गर्ने भन्ने सोचे अनि कृषि पेशामा फर्किए’ उनले भने,‘पहिले जानेको यही पेशा भएकाले अरु भन्दा सजिलो ठानेर पुनः सुरु गरियो।’
अहिले तरकारी खेतीसंगै रातो केरा खेती, ड्रागन खेती गरेका छन्। उनले दुई कठ्ठामा रातो केराको व्यवसायिक खेती थालेका छन्।
यस्तो केरा खेती कैलालीमै पहिलो पटक सुरु गरिएको हो। यो केराको बोट र फल दुवै रातो हुन्छ।
‘पहिलो पटक रातो केरा पनि परीक्षणका रुपमा लगाएको छु’, चौधरीले भने, ‘बाहिरबाट ल्याएर टिस्यु कल्चर प्रविधिबाट उत्पादन गरेको हुँ।’
उनले रोपेका रातो केरा खेती सफल होला भन्ने आशामा छन्। ‘बोटहरु राम्रैसंग उम्रिएका छन्। फल कस्तो दिन्छ त्यो हेर्न बाँकी छ’ उनले भने।
लकडाउनपछि एक महिना उनको सुत्ने, खाने र सामाजिक सञ्जालमै झुम्मिनमा वित्यो। वैशाखको दोस्रो सातातिर उनी घुम्दै बारीतिर पुगे। उनले भने ‘बारी हेरे बाँझै देखे। बैशाख १५ गते परिवार लिएर बाँझो खेतमा तरकारी खेती गर्न शुरु गरे।’
उनले सुरुमा केरा लगाए। बीचको खाली ठाउँमा लौका, करेला, बोडी, भिन्डी, चिचिण्डा, काँक्रा। तरकारी उत्पादन सुरु भइसकेको छ। उनी भन्छन्,‘तरकारीले केराखेतीको लगानी असुल भइसकेको छ, अब केराबाट फाइदा हुनेछ।’
उनले विषादीरहित तरकारी र फलफूल खेती गर्ने उद्देश्यले दुई बिघा जमिन लिजमा लिएको बताए। मासिक तलबमा दुई जना कामदार राखेका छन्। त्यहाँ परबल, बिन, सिमलामिर्च, मेवाखेती गर्ने तयारी छ। उनी फलफूल र तरकारीमा गोठेमल, निम, लसुन, खरानी प्रयोग गर्ने बताउँछन् ।
चौधरीले भने, ‘गाईगोरुको पिसाब, गोबर, कुखुराको सुलीले तरकारी र फलफूल खेती फस्टाउँछ। त्यहाँ उम्रेका घाँस गाईगोरुको आहारा हुन्छ भने बारीमा आउने किराफट्यांग्रा कुखुराका आहार बन्छ।’ पन्छि पालन र पशु पालनसमेत गर्ने उनको योजना छ।
असोज ३, २०७७ शनिबार १५:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।