युवालाई विनाधितो कर्जा

भैरहवा : रुपन्देहीको तिलोत्तमा नगरपालिकाले युवाहरुलाई विनाधितो सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन सुरु गरेको छ।
उत्पादनसँग जोडेर स्वरोजगार बनाउने उद्देश्यले नेपाल बैंक लिमिटेडसँगको सहकार्यमा नगरपालिकाले प्रतिव्यक्ति चार लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराउन सुरु गरेको हो।
केही गरौं भन्ने युवाहरुलाई स्वदेशमै उद्यमी बनाउन विनाधितो कर्जा उपलब्ध गराउन सुरु गरिएको नगर प्रमुख बासुदेव घिमिरेले बताए।
‘यसले धेरैलाई स्वरोजगार र उद्यमी बनाउने हाम्रो विश्वास छ’ घिमिरेले भने,‘नगरपालिकाले पहिलो चरणमा दुई करोड रुपैयाँ कर्जा प्रवाह गर्नेगरी युवाहरुसँग गत वैशाखमा उद्यम प्रस्ताव आह्वान गरेको थियो।’
प्रस्ताव पेश गरेका झण्डै ७ सय युवा मध्येबाट छनौट भएका ८७ जनालाई कर्जा दिन सुरु गरिएको उनले जानकारी दिए।
नगरपालिकाले १५ जना युवालाई कर्जा प्रस्ताव–पत्र हस्तान्तरण गरी सहुलियत कर्जा वितरण सुरु गरेको छ।
प्रस्ताव पेश गरेकाहरुमध्ये नगरपालिका र बैंकका प्रतिनिधि सहभागी छनौट समितिले नाम सिफारिस गरेअनुरुप कर्जा वितरण थालिएको नेपाल बैंकका प्रदेश ५ का प्रमुख पासाङ दोर्जे शेर्पाले बताए।
तिलोत्तमामा चालु आर्थिक वर्षमा नगरपालिकासँगको सहकार्यमा थप ८ करोड सहुलियत कर्जा प्रवाह गर्ने योजना बनाएको शेर्पाले बताए।
खासगरी विदेशबाट फर्किएका वेरोजगार युवाहरुलाई लक्षित गरी सानोतिनो रकमबाट केही काम गर्न चाहनेहरु यो कर्जाबाट लाभान्वित हुने नगरपालिकाले विश्वास लिएको छ।
कर्जा प्राप्त गर्ने युवा १८ देखि ५० वर्ष उमेर समूहको हुनुपर्ने र कुनै पनि बैंक तथा वित्तीय संस्थाबाट कर्जा नलिएको हुनुपर्ने नगरपालिकाले मापदण्ड तोकेको छ ।
कर्जाको व्याजदर पुरुषको लागि वार्षिक ३.९९ प्रतिशत तथा महिलाको लागि वार्षिक २.९९ प्रतिशत छ।
नगर उपप्रमुख जागेश्वरीदेवी चौधरीले सहुलियत कर्जाले विदेशबाट फर्केका या स्वदेशमै वेरोजगार बसेर केही काम गरौँ भन्ने सोच भएका युवाका लागि ठूलो योगदान दिने वताईन्।
असोज ३, २०७७ शनिबार ११:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।