प्रदेश ५ का ६ जिल्ला अस्पताललाई स्तरोन्नती गरिने

प्रदेश ५ का ६ जिल्ला अस्पताललाई स्तरोन्नती गरिने

प्रकाश न्यौपाने

भैरहवा : प्रदेश पाँच सरकारले ६ जिल्लाका जिल्ला अस्पताललाई स्तरोन्नती गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले रुकुमपूर्व, रोल्पा, कपिलवस्तु, अर्घाखाँची, पाल्पा र रुपन्देहीको भैरहवामा रहेको भीम अस्पताललाई स्तरोन्नती गरी ५० शैयाको बनाउने निर्णय गरेको हो । बैठकले भीम र कपिलवस्तु जिल्ला अस्पतालमा ७१ जनाको स्थायी दरबन्दी कायम समेत गेको छ । यस्तै, अर्घाखाँची, रुकुमपूर्व, रोल्पा र पाल्पा जिल्ला अस्पतालका लागि ६० जना चिकित्सकसहित स्वास्थ्यकर्मीको दरबन्दी राख्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकले ६ वटा पालिकालाई कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषबाट शवबाहन एम्बुलेन्स खरिद गर्न रकम प्रदान गर्ने निर्णय पनि गरेको छ । यसका लागि १५ लाख दरले ९० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । जसअनुसार प्यूठान नगरपालिका, गुलरिया नगरपालिका, सिस्ने गाउँपालिका, रोल्पा नगरपालिका, सन्धिखर्क नगरपालिका, रामग्राम नगरपालिकालाई बजेट उपलब्ध गराउने भएको हो ।

यसैगरी रेसुङगा नगरपालिका, गुल्मी र हाकिञ्ज परिषद, बेलायतबीच भगिनी सम्बन्ध कायम गर्न नेपाल सरकारलाई सिफारिश गर्ने निर्णय गरेको छ । त्रिवेणी गाउँपालिकाको वडा संख्या र सीमाना हेरफेर गरी क्रम मिलान गर्ने सम्बन्धमा सम्बन्धित गाउँपालिकाबाट प्राप्त प्रस्ताव नेपाल सरकार समक्ष पठाउन स्वीकृति प्रदान गरेको छ ।

मन्त्रिपरिषद् बैठकले असोज ३ गते संविधान दिवसका दिन घोषणा गरिने पदक सिफारिश स्वीकृत गर्ने । पदक प्राप्त गर्नेहरुको नाम असोज ३ गते आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश राजपत्रमा प्रकाशन गर्ने निर्णय स्वीकृत गरेको छ । यस्तै, आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा अस्थायी दरबन्दी स्वीकृत गर्ने ।

प्रदेश मामिला सूचना केन्द्रका लागि मन्त्रालय र जिल्लास्थित कार्यालयका लागि १९ जनाको दरबन्दी स्वीकृत गरेको छ । बैठकले नेपाल स्वास्थ्य सेवा अन्तर्गत एघारांै तहका डेण्टल सर्जन डा. वर्षा थापालाई लुम्बिनी प्रादेशिक अस्पतालमा कामकाजमा खटाउने निर्णय पनि गरेको छ ।

असोज २, २०७७ शुक्रबार १७:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।