कलाकारको आफ्नै स्वर कि अर्कैको डबिङ ? ‘राम नाम सत्य’को टिजरमा प्रश्न
काठमाडौं : आफूले हेरिरहेका र सुनिरहेका कलाकारको आवाजमा भिन्नता पाइयो भने दर्शकलाई कस्तो महसुस होला ? नीता ढुङ्गानाको फिल्म ‘ह्रस्वदीर्घ’मा भारतीय कलाकार प्रदीप रावत हुन् या अरू, सारै नमिठो सुनियो।
दर्शकले प्रदीप रावतको आवाज भारतीय फिल्महरूमा पहिल्यै सुनेका छन्। त्यसैले नेपाली भाषामा डबिङ गर्दा दर्शकले त्यसलाई सहजै पत्याउने कुरै भएन।
चन्द्र पन्तको पछिल्लो फिल्म ‘आ बाट आमा’मा प्रदीप रावतको भूमिका उति सशक्त देखिँदैन। यद्यपि विशेक चलेकोले निर्माता समेत रहेका पन्तले राहत पाए। तर नेपाली फिल्ममा ‘राते काइँला’को उपनामले परिचित सुनिल थापाको स्वरमा कसैले डब गरिदियो भने कस्तो सुनिएला ? सुन्दा कतै न कतै नमिल्दो र अस्वाभाविक लाग्न सक्छ।
उनै कलाकारको मुख्य भूमिका रहेको फिल्म ‘राम नाम सत्य’को टिजरमा त्यस्तै सुनिन्छ। टिजरमा सुनिएको सुनिल थापाको संवाद उनको आफ्नै जस्तो लाग्दैन। बोली बिलकुलै फरक र बनावटी सुनिन्छ। मानौं, सुनिल थापाकै कुनै एक फिल्ममा बोलेको डाइलग ‘रातेलाई यो कुरा मन परेन’।
सोही संवादमा निर्देशकले कसैलाई डबिङ गर्न लगाएको जस्तो आभास हुन्छ। अहिले टिजरमै आवाज कमजोर सुनिएपछि ट्रेलर र फिल्म नै प्रदर्शन हुँदा दर्शकले त्यसलाई कति रुचाउलान् ? त्यसका लागि आगामी चैत २७ गतेसम्म कुर्नुपर्ने हुन्छ।
एक्सन जनरा, बदला भावको कथामा निर्माण भएको यस फिल्मलाई माइलक चन्दले निर्देशन गरेका छन्। फिल्ममा सुनिल थापाका अलावा बिराज भट्ट, सुपुष्पा भट्ट, सुशील श्रेष्ठ, दिव्या रायमाझीका अलावा प्रशान्त ताम्राकारको पनि अभिनय रहेको छ।
उपेन्द्र शाही र श्वेता मैनालीको लगानीमा निर्माण भएको फिल्ममा समावेश गीत ‘धागोले बाटेको’चर्चामा छ। अब ‘राम नाम सत्य’को गीतले झैँ टिजरले चर्चा पाउँछ कि पाउँदैन, त्यो भने रिलिजपछि नै कुर्नुपर्ने हुन्छ। यो फिल्मसँगै अन्य तीन फिल्म ‘३६ को आँकडा’, ‘डल्लेले इन्ट्री मार्यो’, ‘काजी’पनि प्रदर्शनमा आउँदैछ।
फागुन २८, २०८२ बिहीबार १७:२१:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।