डा. अजयको उपचार अनुभव : विष सेवन गरेकी ती महिलालाई विष काट्ने औषधिले काम नगरेपछि...

डा. अजयको उपचार अनुभव : विष सेवन गरेकी ती महिलालाई विष काट्ने औषधिले काम नगरेपछि...

डा. अजय चौधरी जनरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिन (एमडीजीपीइएम) विशेषज्ञ हुन्। अध्ययन पूरा गरेपछि दुर्गम गाउँमै रहेर सेवा गर्ने निर्णय गरेका उनले त्यहाँका असंख्य बिरामीलाई उपचार गरेर सञ्चो गराएका छन्। स्थानीयका नजरमा उनी ‘ओखती’ हुन। उनलाई गाउँलेले गाउँमै बसेर सबैको स्वास्थ्यका लागि समर्पित चिकित्सकका रूपमा हेर्छन्। सोलुखुम्बुको दुर्गम क्षेत्रमा कार्यरत डा. अजयले गाउँका चुनौती, बिरामीका पीडा र आफ्ना पेशागत अनुभवबारे उकेरासँग खुलेर कुरा गरेका छन्। 

विष सेवन गरेकी ती महिलालाई विष काट्ने औषधिले काम नगरेपछि....

उपचार गरेको मध्ये एउटा घटना डा. अजय कहिल्यै भुल्दैनन्। घटना करिब तीन वर्ष अघिको हो। करिब ५० वर्षकी महिलालाई सोलुखुम्बुको फाप्लु जिल्ला अस्पतालमा उपचारका लागि पुर्याइयो। 

अस्पताल पुर्याइएकी ती महिलाको समस्या अलि जटिल थियो। सायद पारिवारिक कुनै तनावका कारण ती महिलाले विष सेवन गरिछन्। महिला अचेतन अवस्थामा पुगिसकेकी थिइन्। विष सेवन गरेको थाहा भएपछि ती महिलालाई डा. अजयको टिमले विषको असर कम गर्ने (विष काट्ने) औषधि चलाउन सुरु गर्यो। सामान्यतया दुई सय भायल चलाउँदा नै विषको असर कम हुन्थ्यो। तर, ती महिलालाई भने जति औषधि चलाएपनि शरीरमा फैलिएको विषको असर कम भएन।

सामान्यतया १५ देखि दुई सय भायल औषधि चलाउँदा नै शरीरमा फैलिएको विषको असर कम हुनपर्थ्यो। तर, तीन सय भन्दा धेरै भायल चलाउँदा समेत ती महिलाको शरीरमा विषको असर कम नभएपछि चिकित्सकको टिम नै आत्तियो। जति औषधि चलाउँदा समेत काम नगरेपछि ती महिलाको मृत्युको जोखिम नजिकिएको चिकित्सकको टिमले नजिकबाट देख्यो। अन्यत्र रिफर गर्दा झन् ती बिरामीको मृत्युको जोखिम हुन्थ्यो। 

तर, औषधि उपचार गर्न भने छोडिएन। हुँदा हुँदा साढे चार सय भायल औषधि चलाएपछि मात्रै ती महिलाको शरीरमा विषको असर कम हुँदै गयो। विष कम गर्ने औषधि साढे चार सय भाइल चलाउनु भनेको धेरै नै भएको डा. अजय सम्झिन्छन्। ती महिलालाई आइसियुमा नै राखेर उपचार गर्नुपर्ने थियो। त्यहाँ न आइसियु, न त भेन्टिलेटरकै व्यवस्था थियो। जेनतेन त्यहीँ उपचार गरियो। साढे चार सय भायल औषधि चलाएपछि बल्ल विष सेवन गरेकी ती बिरामी बाँच्ने आशा फर्कियो। चिकित्सकको टिमको त्यो अथक मेहनतपछि ती महिला होसमा फर्किँदै गइन्। 

बिरामी बाँचिन्। करिब दुई  हप्ताको अस्पताल बसाइपछि ती विष सेवन गरेर बाँचेकी महिला डिस्चार्ज भएर घर फर्केको सम्झन्छन्, डा. अजय। त्यो जोखिमपूर्ण अवस्थामा समेत ती महिलालाई बचाउन सफल भएको त्यो घटना सम्झँदा अझै डा. अजयको आङ जिरिङ्ग हुन्छ।

गर्भको बच्चाको मृत्यु हुँदा आफैं मृत्युको मुखमा पुगेकी ती महिला

त्यसैगरी अर्की एक जना महिलालाई उपचार गरेको प्रसंग पनि डा. अजय कहिल्यै भुल्दैनन्। प्रसंग केही वर्ष अघिको फाप्लु जिल्ला अस्पतालकै हो। करिब ३२ वर्षकी ती गर्भवती महिलालाई सुत्केरी व्यथाले च्यापेपछि अस्पताल पुर्याइएको थियो। 
ती महिला दोस्रो सन्तान जन्माउने तयारीमा थिइन्। उनको पहिलो सन्तान शल्यक्रिया (सिजरियन सेक्शन) गरेर जन्मिएको रहेछ। 

दोस्रो सन्तान जन्माउनका लागि प्रसव बेदनाले छट्पटाउँदै अस्पताल पुगेकी ती महिलाको स्वास्थ्य अवस्था हेरियो।  ती महिला ३९ हप्ताको गर्भवती थिइन्। चिकित्सकको टिमले अल्ट्रासाउन्ड गर्यो। 

दुर्भाग्य, ती महिलाको पाठेघर फुटिसकेको थियो र गर्भको बच्चा मृत्यु भइसकेको थाहा भयो। त्यसैले चिकित्सकको टिम आमाको ज्यान बचाउनतर्फ केन्द्रित भयो। तुरुन्तै शल्यक्रिया गरी गर्भमा मृत्यु भएको बच्चा ननिकाले आमाको पनि तत्कालै ज्यान जाने जोखिम थियो।

रक्तश्राव भइरहेको थियो। त्यसैले चिकित्सकको टिमले हतारहतार शल्यक्रिया गरी ती महिलाको गर्भमा मृत्यु भएको बच्चा निकाल्यो। रक्तश्राव रोकियो। 

धन्न, गर्भ खेर गएपनि ती महिलाको ज्यान भने बचाउन सफल भयो चिकित्सकको टिम। केही दिनको औषधि उपचारपछि ती महिला बाँचेर घर फर्किइन्। गर्भमा नै बच्चाको मृत्यु भएर आफू समेत मृत्युको मुखमा पुगेकी ती महिलालाई बचाउन सकेको सम्झँदा अझै डा. अजयलाई आनन्द लाग्छ।

डाक्टरी रहर, छात्रवृत्तिमा अध्ययन

सप्तरीको बोदेबरसाइन  नगरपालिका वडा नम्बर-२ मा २०४१ जन्मिएका अजयले राजबिराजस्थित हेप्पील्याण्ड माविबाट २०५८ एसएलसी गरे। उनले भारतको चेन्नेई पुगेर प्लस टु गरे। 

बाल्यकाल देखि नै सेतो एप्रोन लगाएर दुःखी बिरामीको उपचार गर्ने विषय उनको बालमस्तिष्क मा विकास हुँदै गएको थियो। त्यसैले उनले प्लस टु पछि डाक्टरी विषय अध्ययनका लागि तयारी गरे। छनोट परीक्षा दिए। अध्ययनमा अब्बल उनी एमबीबीएस अध्ययनका लागि छनोट मात्रै भएनन्, छात्रवृत्ति कोटामा नै पढ्ने अवसर पाए। 

छनोट परीक्षामा सफल भएर उनी सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्ययनका लागि सन् २००७ मा भर्ना भए। सन् २०१२ मा डा. अजयको एमबीबीएस अध्ययन पूरा भयो। एमबीबीएस अध्ययन सकेपछि आफूले एमबीबीएस अध्ययन गरेकै वीपी प्रतिष्ठानमा डा. अजयले करिब एक वर्ष  मेडिकल अधिकृतका रुपमा आकस्मिक कक्षमा काम गरे। त्यसपछि उनले करिब एक वर्ष झापाको दमकमा पुगेर निष्ट कलेजमा एचए विषय अध्ययन गर्ने चिकित्सा शास्त्रका विद्यार्थीलाई पढाउने काम गरे। 

गाउँमा काम गर्ने इच्छाले रोजे एमडीजीपी

डा. अजयलाई गाउँगाउँमा दुःख पाएका बिरामीको औषधि उपचारमा नै केन्द्रित हुन मन थियो। उनले त्यस्तै विषय खोजे। समग्र रोगको उपचार गर्ने सकिने चिकित्सा शास्त्रको विशेषज्ञ तहको विषय ‘एमडीजीपीइएम’ हो। त्यसैले डा. अजयले यही नै विषय अध्ययन गर्ने निर्णय लिए। 

त्यसैले उनले आफूले अध्ययन गरेकै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘जनरल प्राक्टिस एन्ड इमर्जेन्सी मेडिसिन (मडीजीपीइएम)’ मा चिकित्सा शास्त्रको स्नातकोत्तर तहको अध्ययन सन् २०१६ मा शुरू गरे। यो विषय अध्ययन गरेका चिकित्सकको मुख्य काम बिरामीको प्राथमिक र आकस्मिक उपचार गर्नु हो। समग्र रोगको आफैँ उपचार गर्ने अनि थप विशेषज्ञ चिकित्सक आवश्यकता परेको खण्डमा मात्रै बिरामी रिफर गर्नु यो विषय अध्ययन गरेका चिकित्सकको चिकित्सकीय धर्म हो। सन् २०१९ मा उनको एमडीजीपीइएम अध्ययन पूरा भयो। 

डा. अजयले एमडीजीपीइएम पनि सरकारी छात्रवृत्ति कोटामा नै अध्ययन गरेका हुन्। त्यसैले छात्रवृत्तिमा अध्ययन गरेवापत उनले दुई वर्ष अनिवार्य छात्रवृत्ति करारका रुपमा काम गर्नु पर्ने थियो। 

उनी छात्रवृत्ति करारमा काम गर्नका लागि राजबिराज स्थित गजेन्द्र नारायण अस्पतालमा पुगेर काम गर्न थाले। डा. अजयलाई दुर्गामा नै पुगेर काम गर्ने इच्छा थियो। त्यसैले डा. अजय राजबिराजमा करिब डेढ वर्ष काम गरेपछि दुर्गमको जिल्ला सोलुखुम्बुस्थित पाप्लु जिल्ला अस्पताल पुगे। त्यहाँ उनले छात्रवृत्ति करारमा ६ महिना काम गरे। गजेन्द्र नारायणमा डेढ वर्ष र फाप्लु अस्पतालमा ६ महिना गरी उनको दुई वर्ष छात्रवृत्ति करारको काम पूरा भयो। 

डा. अजय सोलुखुम्बुमा नै रमाए। त्यसैले  उनले छात्रवृत्ति करारको काम सकिएपछि पनि फाप्लु जिल्ला अस्पतालमा नै निरन्तर काम गरिरहे। छात्रवृत्ति करारको काम सकिएपछि पनि उनी त्यहाँ करिब डेढ वर्ष करार जागिरेका रुपमा रहेर काम गरे। 

फाप्लु जिल्ला अस्पतालमा दुई वर्ष काम गरेपछि पनि डा. अजय सुगमतिर फर्किएनन्। सोलुखुम्बुमा नै रमाए। दुई वर्षयता सोलुखुम्बुकै थुलुङ दुधकोशी गाउँपालीका अस्पतालमा प्रमुखको भूमिकामा रहेर कार्यरत छन्। पाँच वर्ष यता डा. अजय सोलुखुम्बुमा नै कार्यरत छन्। उपचारपछि ठिक भएर कयौँ बिरामीहरू खुसी भएर कोशेली बोकेर समेत आउने गरेको उनले अनुभव सुनाए। 

एमडीजीपीइम अध्ययन गरेका चिकित्सक नेपालका दुर्गमका गाउँमा बिरामीको उपचार गर्ने उपयुक्त चिकित्सकीय विद्या भएको उनी बताउँछन्। त्यसैले यो विषय अध्ययन गरेका चिकित्सकको लागि सरकारी स्थायी दरबन्दी सिर्जना गरेर गाउँगाउँमा खटाएको खण्डमा धेरै बिरामीहरूलाई उपचारको पहुँचमा पुर्याउनुपर्ने डा. अजयको सुझाव छ।  

त्यसो त दुर्गममा बसेर काम गर्दा सीमित स्रोत साधन लगायतको समस्याको बाबजुद काम गर्नुपर्ने चुनौतीहरू सुनाए उनले। बाटोघाटोको समस्या उस्तै छ। त्यसैले नै समग्र रोगको उपचार गर्न सक्ने एमडीजीपीइएम चिकित्सकलाई गाउँगाउँमा पठाउन सक्नुपर्ने डा. अजयको सुझाव छ। यो विषय अध्ययन गरेका चिकित्सकलाई नेपालको माटो सुहाउँदो आवश्यक विशेषज्ञका रुपमा लिन्छन्, उनी। 

कात्तिक १५, २०८२ शनिबार १५:०९:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।