काठमाडौंको सुरक्षा व्यवस्थामा असफल भएका एसएसपी अधिकारीको सरुवा, थापा आए

काठमाडौं : गृह मन्त्रालयले काठमाडौंका प्रहरी प्रमुखको सरुवा गरेको छ। बिहीवार काठमाडौंका एसएसपी विश्वराज अधिकारीलाई हटाएर प्रहरी प्रधान कार्यालयमा रहेका रमेश थापाको सरुवा गरिएको छ। प्रहरी नियमावली अनुसार एसएसपी र डिआइजीको सरुवाको अधिकार गृहमन्त्रीमा रहेको छ।
गृहमन्त्रीको निर्णयमा सरुवा भए पनि प्रहरी महानिरिक्षकको सुझाव अनुसार थापालाई काठमाडौंमा पठाइएको हो।
यस अगाडि २०८१ चैत १५ को तीनकुने घटनामा भएको सुरक्षा चुककै बेलामा अधिकारीको सरुवाको प्रयास भए पनि तत्कालीन गृहमन्त्री रमेश लेखकले मानेका थिएनन्।
जेनजी पुस्ताको दुई दिनको आन्दोलनको पहिलो दिन उस्तै गरि भिड नियन्त्रणमा अधिकारी पूर्ण रूपमा असफल भएका थिए। काठमाडौंको सुरक्षा प्रबन्ध पुरै असफल हुँदा पहिलो दिन नयाँ बानेश्वरमा पहिलो दिन ठूलो हताहत भएको थियो भने दोस्रो दिन हिंसात्मक घटनासँगै व्यापक आगजनी भएको थियो।
काठमाडौंका अधिकांश प्रहरी प्रभागहरू आगजनीमा परे भने प्रहरीको हतियार र सामग्री लुटिएको थियो। बिहिबार नै प्रहरी प्रधान कार्यालयले काठमाडौंको एसपी अपिलराज बोहोराको समेत सरुवा गरेको थियो।
थापा यस अगाडि उपत्यका अपराध महाशाखामा बसेका थिए। नगर प्रहरीको समेत कमाण्ड सम्हालेका उनी अपराध अनुसन्धान र नागरिक सुरक्षामा अनुभवी प्रहरी मानिन्छन्।
असोज २, २०८२ बिहीबार २१:०४:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।