नेपाल टनेल युगमा प्रवेश गर्यो, नागढुंगा सुरुङमार्गमा एक वर्षमा गाडी चल्छ : मन्त्री ज्वाला

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आउँदो एक वर्षभित्र गाडी नै चल्ने गरी नागढुंगा सुरुङमार्गको कामलाई तीव्रता दिने बताएका छन्।
नागढुंगा सडक पूर्वाधार र नागढुंगा सुरुङमार्गको निर्माणको प्रगतिबारे स्थलगत अनुगमनका क्रममा पत्रकारसँग कुरा गर्दै उनले सबै समस्या समाधान गर्न सरकार तयार रहेकाले निर्माण कम्पनीले कुनै बहानामा कामलाई रोक्न नपाउने बताए।
मन्त्री ज्वालाले भने, ‘नागढुंगा सडक पूर्वाधार र नागढुंगा सुरुङमार्गको निर्माणको प्रगति के छ भनेर अध्ययन गर्नका लागि आएका छौं। नेपाललाई सडक पूर्वाधारका क्षेत्रमा पनि टनेल युगमा प्रवेश गराएका छौं।’
‘एक वर्षभित्र गाडी चल्नसक्ने गरी कामलाई अझै तीव्र बनाउने काममा हामी लाग्नेछौ। केही मुआब्जा वा आपूर्ति प्रक्रियामा समस्या होलान्। आयोजना प्रमुख लगायतसँग छलफल गरेर जानकारी लिन्छौं, छलफल गर्छौं र छिटो समाधान गर्छौं,’ उनले थपे।
उक्त सुरुङमार्गको मुख्य टनेल जोडिन ६०० मिटर र रेस्क्यु टनेल जोडिन २०० मिटर मात्रै बाँकी रहेको छ। आउँदो दसैं आसपासमा भने टनेल जोडिने र त्यसपछि अन्य पूर्वाधारको काम थालिने पनि नागढुंगा सडक आयोजनाले जानकारी दिएको छ।
जेठ १२, २०८० शुक्रबार १३:५६:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।