निर्वाचन आयोगको बदनियत, पत्रकार संहिता र अनलाइन निर्देशिका मिच्दै समाचार हटाउन निर्देशन

निर्वाचन आयोगको बदनियत, पत्रकार संहिता र अनलाइन निर्देशिका मिच्दै समाचार हटाउन निर्देशन

काठमाडौं : अनलाइन सञ्चारमाध्यम सन्चालनसम्बन्धी निर्देशिका र पत्रकार आचारसंहिता विपरीत निर्वाचन आयोगले सेतोपाटी डटकममा प्रकाशित सामाग्री हटाउन निर्देशन दिएको छ।

झापा क्षेत्र नम्बर १ का एमालेका उम्मेदवार अग्नि खरेलका छोरा अमेरिकी सेनामा भर्ना भए पनि उनको नाम काठमाडौं-२ को मतदाता सूचिमा रहेकोबारे प्रकाशित समाचार हटाउन आयोगले निर्देशन दिएको हो।

खरेल अमेरिकी सेनामा रहेको तस्बिर र मतदाता सूचिको विवरणसँगै सम्बन्धित पक्ष अग्नि खरेलको भनाई सहित प्रकाशित समाचारलाई आयोगले उम्मेदवार र निजको एकाघरका परिवारका सदस्यको मान, प्रतिष्ठा, इज्जतमा आँच पुर्याउने देखिएको आफैँ ठहर गरेको हो।

'त्यसरी समाचार प्रकाशित गर्नु आचारसंहिता विपरीत हो, होइन?, यस्तो गलत र भ्रामक समाचार प्रकाशन र प्रसारण गर्न मिल्छ कि मिल्दैन ?, निर्वाचन आचारसंहिताविरुद्धको सामग्री प्रकाशित गरेकोमा सेतोपाटी डटकमलाई कारबाही किन नगर्नु पर्ने हो ? भनेर आयोगले २४ घण्टाको समय दिएको छ।

प्रमाणको रूपमा अमेरिकी सेनामा रहेको तस्बिर र सम्बन्धित व्यक्तिको अभिभावकले नै सात वर्ष अगाडि अमेरिकी सेनामा भर्ना भएको स्विकारोक्तीसहित प्रकाशित समाचारले कसरी भ्रामक भयो भन्ने आयोगले खुलाएको छैन।

आयोगको यो निर्देशन पत्रकार आचार संहिता २०७३ अनि अनलाइन सञ्चारमाध्यम सञ्चालन सम्बन्धी निर्देशिकाको विपरीत छ।

पत्रकार संहिता अनुसार अनलाइन सञ्चार माध्यममा प्रकाशित कुनै पनि सामाग्री डिलेट गर्न पाइँदैन। असावधानीवश प्रकाशित वा गम्भीर क्षति पूर्याउने समाचारको हकमा त्यस्तो सामाग्री डिलिट गर्नुको कारण खुलाएर क्षमा माग्नुपर्ने उल्लेख छ।

निर्देशिकामा अनलाइनमा प्रकाशित सामाग्री सुरक्षित राख्नु सञ्चालकको जिम्मेवारी हुने उल्लेख छ।

आयोगको बदनियत भन्दै आलोचना
आयोगले सेतोपाटीलाई पठाएको पत्र सार्वजनिक भए लगत्तै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ।

अनलाइन पत्रकार सङ्घ नेपालले विज्ञप्तिमार्फत आयोगले सेतोपाटी डटकमलाई दिएको निर्देशनप्रति सङ्घको गम्भीर ध्यानाकर्षण भएको भन्दै  कुनै पनि सञ्चारमाध्यममा प्रकाशित एवं प्रसारित समाचारका विषयमा चित्त नबुझेमा राज्यद्वारा तोकिएका निकाय मार्फत कार्य प्रक्रिया अगाडी बढाउने कानुनी अभ्यास हुँदा हुँदै निर्वाचन आयोग आफैले सञ्चारमाध्यमलाई स्पष्टीकरण सोध्ने र सो स्पष्टीकरणको जवाफ समेत दिने मौका नदिई समाचार हटाउन निर्देशन दिनु आयोगको बदनियत देखिने उल्लेख छ।

कात्तिक १९, २०७९ शनिबार २२:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।