एमालेको चितवन मोडलमै छानियो प्रेस चौतारीको नेतृत्व, प्रेस युनियन नेतृत्व छल्दै छ महाधिवेशन

पोखरा : एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको भातृ सङ्गठनमा पनि पार्टीको चितवन महाधिवेशनकै मोडल भित्र्याउँदै एमाले निकट पत्रकारहरूको सङ्गठन प्रेस चौतारी नेपालमा आफू अनुकूललाई अध्यक्ष बनाएका छन्।
निर्वाचनमार्फत चौतारीको पदाधिकारी चयन गर्न पोखरा पुगेका महाधिवेशन प्रतिनिधिहरू पार्टीको हस्तक्षेपमा सर्वसम्मत भएका पदाधिकारीको लिस्ट सुनेर फर्कदैछन्।
चौतारीको अध्यक्षका लागि गणेश पाण्डे, माधव नेपाल, राजेश राई, रोहित दाहाल अनि माधवप्रसाद तिवारी आकाङ्क्षी थिए। पार्टीले निर्वाचनको साटो सर्वसम्मत उम्मेदवार चयन गर्न दबाब दिएपछि अध्यक्षका आकाङ्क्षीहरू उम्मेदवार बन्नबाट पछि हटे।
चौतारीमा एमाले चितवन महाधिवेशनमा झैँ सर्वसम्मतको बहानामा आफ्नालाई मात्र कार्यसमितिमा ल्याउने प्रयास रोक्न भीम रावल र घनश्याम भुसालले उम्मेदवारी दिएझैँ चौतारीमा उम्मेदवार देखिएनन्।
ओलीको दबाबमा गणेश बस्नेत अध्यक्ष घोषित भए। उनको यो दोस्रो कार्यकाल हो। अध्यक्षका आकाङ्क्षीमध्ये पाण्डे वरिष्ठ उपाध्यक्षमा चित्त बुझाए। राजेश राई उपाध्यक्षमा बसे। नेपाल, दाहाल र तिवारी कार्यसमितिमा बसेनन्।
तिवारीले सामाजिक सञ्जालमा चौतारीको साधारण सदस्य समेत नरहने गरी सङ्गठन छाडेको लेखेका थिए। दाहालले फेसबुकमा निर्वाचन प्रक्रियामा जानै नदिई आफू अनुकूलका आकाङ्क्षीलाई सर्वसम्मत बनाएकोमा व्यङ्ग्यात्मक शुभकामना लेखेका छन्।
उनले लेखेका छन्' २३ वर्ष हाराहारीदेखिको साथी गणेश बस्नेतजी प्रेस चौतारीको १० वर्ष अध्यक्ष बन्न सफल हुनु भएकोमा म जति खुसी को होला? १० वर्षे अध्यक्ष चौतारीमा न भुत्तो न भविष्यती, चौतारीमा बस्नेतजी जत्तिको अब्बल निस्किहाले होलान् भन्ने मलाई पनि लागेको थिएन। धन्न बालाई पनि त्यस्तै लागेछ, मेरो सोचाइलाई मूर्तरूप दिनुभएकोमा आइ लभ यु बा।'
सर्वसम्मत चयन हुने उपाध्यक्षहरूमा राईसँगै सविन प्रियासन र देवीका घर्ती मगर छन्। महासचिवमा हिरामान लामा, उपमहासचिवमा शुरोजङ्ग पाण्डे र राजु सुवेदीको नाम टाँसियो। कोषाध्यक्षमा इन्द्र आचार्य दोहोरिएका छन्।
यसै गरी सचिवमा विक्रम लुइँटेल, कमल उपाध्याय, विष्णु तारुके, सुष्मा पौडेल, प्रदीप आचार्य, विष्णु शर्मा, लोग्सरी कुँवर र हरिबल्लभ नेपाल चयन भए।
कांग्रेस निकट प्रेस युनियनले अधिवेशन गर्नै सकेन
एमाले निकट पत्रकारहरूको सङ्गठन चौतारीले सर्वसम्मत भए पनि पदाधिकारी चयन गरे। तर अर्को दल नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियनले भने महाधिवेशन समेत गर्न सकेको छैन। अहिले कायम रहेको समितको म्याद सकिए पनि नेतृत्वले महाधिवेशन गर्ने तयारी गर्न सकेको छैन।
वर्तमान समितिको यो तेस्रो कार्यकाल हो। युनियनका अध्यक्ष बद्री सिग्देल तत्काल महाधिवेशन गर्ने रणनीतिमा छैनन्। युनियनमा सिग्देल पार्टी सभापति शेरबहादुर देउवा समूहका हुन्। नेतृत्वका लागि देउवा समूहबाट दोस्रो प्रभावशाली उम्मेदवार नदेखिएपछि पार्टी नेतृत्व तत्काल महाधिवेशन गराउने मनस्थितिमा देखिएको छैन। महासचिव अजयबाबु सिवाकोटी पार्टीको केन्द्रीय सदस्य भएर उतै सक्रिय हुन थालेका छन्। वर्तमान कार्यसमितिमा रहेकाहरूले पनि नेतृत्वलाई महाधिवेशनका लागि बाध्य बनाउन सकेको छैन।
फागुन २९, २०७८ आइतबार १४:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।