एमाले अध्यक्ष ओलीको दबाबमा प्रेस चौतारीको अध्यक्षमा पुनः बस्नेत चयन

एमाले अध्यक्ष ओलीको दबाबमा प्रेस चौतारीको अध्यक्षमा पुनः बस्नेत चयन

पोखराः नेकपा एमालेनिकट पत्रकारहरूको संगठन प्रेस चौतारीको अध्यक्षमा गणेश बस्नेत चयन भएका छन्। फागुन २७ गतेदेखि पोखरामा सुरु भएको नवौं राष्ट्रिय महाधिवेशनमा अध्यक्षका आकांक्षी गणेश पाण्डे र माधव नेपाललाई पन्छाएर बस्नेतको नेतृत्त्वमा नयाँ कार्यसमिति चयन गरिएको हो।

दुई दिनसम्म अधिवेशनमा अध्यक्षसहित विभिन्न पदमा आकांक्षीबीच सहमति नजुटेपछि अधिकांश पुरानै अनुहारलाई दोहोर्याएर कार्यसमिति बनाइएको छ। सर्वसम्मत अध्यक्ष बनाइएका बस्नेत यसअघि पनि संगठनको अध्यक्ष थिए।

अध्यक्षका आकांक्षी पाण्डे र नेपालबीच सहमति नभएपछि पार्टी अध्यक्ष ओलीको दबाबमा पुनः बस्नेतलाई नै दोहोर्याइएको हो। वरिष्ठ उपाध्यक्षमा गणेश पाण्डेलाई ल्याइएको छ। उनी नवौं महाधिवेशन मूल व्यवस्थापन समितिका सञ्योजक समेत हुन्।

त्यसैगरी उपाध्यक्षहरूमा राजेश राई, सविन प्रियासन र देविका घर्तीमगर चुनिएका छन्। महासचिवमा हिरामान लामा, उपमहासचिवमा शुरोजङ्ग पाण्डे र राजु सुवेदी चयन भएका छन्। कोषाध्यक्षमा इन्द्र आचार्य दोहोरिएका छन्।

सचिवमा विक्रम लुइँटेल, कमल उपाध्याय, विष्णु तारुके, सुष्मा पौडेल, प्रदीप आचार्य, विष्णु शर्मा, लोग्सरी कुँवर र हरिबल्लभ नेपाल चयन भएका छन्।

फागुन २९, २०७८ आइतबार ०९:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।