स्थानीय चुनावसम्म पार्टीभित्रको विवाद र पदीय भागबण्डा पर सार्न माओवादी तयार

काठमाडौंः माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक गत शुक्रबारदेखि सुरु भएर आज सोमबार सकियो। सोमबारको बैठकमा ९७ जना केन्द्रीय सदस्य थप गर्ने प्रस्ताव गर्दै अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नाम पढेर सुनाए।
सो नाममा सहमति गर्न समय दिइयो। तर, सम्बन्धित कमिटी र भातृ संगठनले अध्यक्ष प्रचण्डको प्रस्ताव स्वीकार गरेनन्। प्रभावशाली नेता र भातृ संगठनले आफ्ना मान्छे केन्द्रीय सदस्य बनाउन लबिङ गर्ने र सांगठनिक रूपमै लिखित असहमति राखेपछि अध्यक्ष प्रचण्डलाई भारी पर्यो।
उनले प्रस्ताव गरेको नाम नै कटौती भयो र ५० जना केन्द्रीय सदस्य थपिए। केन्द्रीय कमिटी बैठकले पदाधिकारी, केन्द्रीय कमिटी, पोलिटब्यूरो र स्थायी कमिटी गठन गर्ने अपेक्षा गरिएको थियो। तर, विवाद हुने देखिएकाले ती विषयलाई जेठ २० गतेसम्मलाई सारिएको छ।
वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति तय भएकाले सो समयसम्म पार्टीभित्रको विवाद र पदीय भागबण्डालाई पर सार्न माओवादी तयार भएको हो।
पार्टीेको विवाद चुनावमा देखिँदा हारिने डर माओवादीमा छ। तर माओवादी नेता भने यो विषय स्वीकार गर्न तयार छैनन्।
'पदाधिकारी टुंगो लगाउन किन नसकेको ?' भन्ने प्रश्नमा माओवादी नेताहरू कोरोना र एमसीसीलाई बाहना बनाउँछन्, विवाद भएर सहमति गराउन नसकेको होइन।
एमसीसी संसद्बाट अनुमोदन गरेकोमा नारायणकाजी श्रेष्ठ समूह असन्तुष्ट छ भने, पार्टी परित्याग गर्नपर्नेसम्मको बहस सो समूहले गरेको थियो।
यता माओवादीमा पदाधिकारी चयन हुन नसक्नुमा अधिकांश नेताहरूको साझा जवाफ छ। एमसीसीको बहसलाई चुनावपछि लैजानुले चुनावमा डिफेन्सिभ देखिनका लागि माओवादीले फरक मतलाई पर धेकलेको हो।
‘सबै बराबर स्तरमा काम गरेपछि सबैको दावी हुनु स्वाभाविक हो। हाम्रो नेतृत्त्वमा केन्द्रिकरण नै महत्त्वपूर्ण कुरा हो, केन्द्रिकरणको नेताहरूको नेता नै हाम्रो नेता हो’, केन्द्रीय सदस्य बलावती शर्माले भनिन्।
'फरक मत सुनुवाइ हुनै छाड्यो नि ?' भन्ने प्रश्नमा उनी भन्छिन्- ‘फरक मत केन्द्रीय कार्यालयमा दर्ज छ। बहसको फोरम चलाउछौं। यसले चुनावलाई असर गर्दैन। असहमति पनि हाम्रो पार्टीमा जस्तो बकाइदा अन्त छैन।’
माओवादीको महासचिवमा वर्षमान पुन, जनार्दन शर्मा, पम्फा भुसाल र देव गुरुङले दावी गरिरहेका छन्। तीमध्ये वर्षमान र जनार्दनलाई प्रमुख दावेदारका रूपमा हेरिएको छ। नेता पुन स्वच्छ प्रतिस्पर्धा गरेर पार्टीको नेतृत्त्व टुंगिने बताउँछन्।
‘अध्यक्ष-अध्यक्ष, उपाध्यक्ष-उपाध्यक्ष लडाइँ गरेर लड्ने होइनौँ। विचार, नीति, कार्यनीति, रणनीति हो, त्यसमा प्रतिस्पर्धा गर्छौं’, उनले भने।
नेता पुनले पनि पदाधिकारी चयन गर्न नसक्नुमा कोरोना र एमसीसी नै कारक रहेको बताए। अब पार्टीको ध्यान स्थानीय चुनावमा केन्द्रित हुने पनि उनको भनाइ छ। ‘कहिले कोरोना, कहिले एमसीसी, कहिले एमसीसीको आन्दोलन कहिले एमसीसीको बारेमा उपाय खोज्ने गर्दा समय सकियो। अब हामी स्थानीय चुनावमा केन्द्रित हुन्छौं', उनले भने।
सोमबारको केन्द्रीय कमिटीको बैठकपछि प्रचण्डले पार्टी एकताबद्ध भएको बताएका थिए। उनले एमसीसीमा विभिन्न कुरा आएको भए पनि धैर्य र विवेकपूर्ण ढंगले त्यसलाई समाधन गरेको बताए।
‘विभिन्न कुराहरू आएका थिए,’ प्रचण्डले भने, ‘हामीले धैर्यतापूर्वक, बढो विवेकपूर्ण ढंगले त्यसलाई समाधान गर्यौं। पार्टीलाई एकताबद्ध गर्यौं र एउटै कार्यक्रम लिएर, एउटै भाषा लिएर चुनावमा जाँदैछौं।’
फागुन २३, २०७८ सोमबार २१:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।