चन्दाप्याड सहित समातिए बानेश्वरमा कुकर बम राख्ने विप्लवका कार्यकर्ता

चन्दाप्याड सहित समातिए बानेश्वरमा कुकर बम राख्ने विप्लवका कार्यकर्ता

नेपाली सेनाको प्राविधिक टिमले डिफ्युजको प्रयास गर्दा नक्कली बम राखेर त्रास बढाउने प्रयास भएको देखिए पनि प्रहरीले नक्कली बम राख्नेको खोजी सुरु गरेको थियो। रिङरोड क्षेत्र प्रहरीको क्लोज सर्किट टेलिभिजनको निगरानीमा रहेकाले विहानै आएर प्रेसर कुकर राख्नेले प्रयोग गरेको बाइकको नम्बरको आधारमा प्रहरीले बुधवार विप्लव समूहका विद्यार्थी नेता सुवास महत पक्राउ परेका छन्।

महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार उनी काभ्रेपलान्चोक भुम्लो गाउँपालिका-२ सिमथलीका हुन्। उनी चाबहिलमा बस्दै आएका छन्।

जनमानसमा भय त्रास सिर्जना गरी आतङ्कित बनाउने उद्देश्यले शङ्कास्पद वस्तु राखेको आरोपमा उनलाई घटनामा प्रयोग भएको मोटरसाइकल र पार्टीको चन्दा प्याडहरू सहित पक्राउ गरिएको हो। प्रहरी अनुसन्धानमा उनी अनेरास्वबियु क्रान्तिकारीका पशुपति बहुमुखी क्याम्पस कमिटी अध्यक्ष रहेको समेत खुलेको छ।

प्रहरीले उनको साथबाट घटनामा प्रयोग भएको बा.प्र.०२-०३०-प ७०८५ नम्बरको मोटरसाइकल, हेलमेट, ज्याकेट र विभिन्न कम्पनीका ४ थान मोबाइल र चन्दा प्याडहरू फेला परेको छ।

यो घटनाले शान्तिपूर्ण राजनीति गर्ने भन्दै भूमिगत गतिविधी छाडेर सार्वजनिक भएको विप्लव समूह अझैँ हिंसात्मक घटना र जनमानसमा त्रास फैलाउन सक्रिय देखिएको छ। तर विप्लव समूह भने आफुहरु शान्तिपूर्ण राजनीतिमा आएको सर्त भन्दै हिंसात्मक गतिविधिमा संलग्न रहेको आरोपमा कारागारमा रहेका आफ्ना नेता/कार्यकर्ता छुटाउन दबाब दिइरहेको छ। 

फागुन १८, २०७८ बुधबार १८:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।