विराटनगरमा रोकिएन अवैध उत्खनन्

विराटनगरमा रोकिएन अवैध उत्खनन्

विराटनगर १४ जतुवास्थित सिंघिया खोलामा अवैध रुपमा उत्खननमा प्रयोग भएको दुइ वटा सवारी साधनलाई इलका प्रहरी कार्यालय रानीले पक्राउ गरि आवश्यक कारवाहीको लागि विराटनगर महानगरपालिका आइतबार पठाएको छ । विराटनगर १४ का जोगी यादव र बुद्ध यादवको को २ त ७९३ र को २ त ५३७२ नंं. ट्याक्टर खोला अवैध उत्खनन गरेको पाइएपछि महानगरपालिकाले आर्थिक ऐन २०७८ अनुसार जनही १०/ १० हजार रुपैयाँ जरिवना तिरेपछि आइतबार नै छोडेको थियो। यस अघि पनि विराटनगरको सिंघिया र केसेलिया खोलामा अवैध उत्खननको क्रममा प्रहरीले पक्राउ गरि को १ त ४४५३, को १ त ६०१८, नम्बरको ट्याक्टर जरिवना गरि महानगरपालिकाले छोडेको थियो ।

यसरी महानगरपालिकाले बस्ती नै जोखिममा हुने गरि उत्खननमा प्रयोग भएका सवारी साधनलाई सामान्य जरिवना तिराएर सम्झाइ बुझाइ गरेर छोडेपनि उनीहरु पुनःमाहानगरपालिकालाई तिरेको जरिवना रकम असुल्न फेरी अवैध खोला उत्खननमा लाग्ने गरेको पाइएको हो। यसरी चालु आर्थिक वर्षको फागुन १५ गतेसम्म २८ वटा ट्याक्टर पटेकमा कारवाही गरेको महानगरपालिको अभिलेखमा देखिन्छ। अवैध उत्खननमा प्रयोग भइ पटेकमा परेका सवारी साधनलाई दोब्बर जरिवना गरिने गरेको विराटनगर महानगरपालिका नगर प्रहरी प्रमुख प्रहरी निरीक्षक राजन पौडेलले जानकारी दिए।

आर्थिक ऐन २०७८ अनुसार अवैध उत्खननमा प्रयोग भएका सवारी साधनहरु अहिले कारवाहीको दायारमा ल्याउने गरेकाे बताउँदै दोस्रो पटक कारवाहीमा परे दोब्बर र तेस्रो पटक परे तेब्बर राजस्व लिने गरिएको उनले बताए। चालु आर्थिक वर्षको फागुन १५ गतेसम्म खोला उत्खनन निन्यन्त्रणबाट ३ लाख ३० हजार रुपैयाँ जरिवना असुल गरेको उनले बताए। आर्थिक वर्ष २०७७/०७८ मा ४० वटा ट्याक्टर कारवाहीमा गरि ४ लाख १ हजार रुपैयाँ जरिवना गरिएको महानगरपालिकाको अभिलेखमा देखिन्छ।

स्थानीय तहहरूले नदीमा अवैधरूपमा उत्खनन गराइरहेका ट्याक्टरलाई नियन्त्रणमा लिई जरिवाना असुल गर्ने र छाड्ने प्रवृतिका कारण विराटनगरका खोलामा नदीजन्य पदार्थ उत्खनन जारी रहेको स्थानीय पूर्ण बहादुर खड्काले बताए। महानगरपालिकाले दोस्रो पटक भेटिएमा पहिलो पटकको जरिवानामा ५० प्रतिशत थप गरी जरिवाना लिने र तेस्रो पटक भेटिएमा सय प्रतिशत र चौथो पटक भेटिएमा गाडी जफत गर्ने जनाएको छ।

खोलाजन्य वस्तु निकासीमा रोक लगाए पनि विराटनगरको सिंघिया र केसेलिया खेलाबाट बालुवा उत्खनन अझै रोकिएको छैन। सिंघिया र केसेलिया खोलाहरूमा नदीजन्य पदार्थहरू उत्खनन भइरहेको स्थानीयहरू बताउँछन्। यसरी जथाभावी रुपमा अवैध रुपमा खोला उत्खनन हुदा बस्ती जोखिममा परेको विराटनगर १२ का शिव नारयण यादवले बताए। खोलामा जथाभावी बालुवा र भरोट(बालुवा माटो) उत्खनन गरेकै कारण हाम्रो बस्ती जोखिममा रहेको र अहिले साँझ, विहान र रातीको समयमा सिंघिया खेलामा उत्खनन तथा चोरी निकासी भइरहेकाे उनकाे भनाइ छ।

अहिले जथाभावी रुपमा केसिलिया खोलाको भरोट र बालुवा उत्थनन गरेको असर पछि बर्खायाममा पर्ने गरेको बताउँदै खोलाहरुमा जथाभावी रुपमा भएको उत्खननको दुःख बर्खायाममा स्थानीयले भाेग्नु पर्ने बाए। यसरी अवैध उत्खनन भएको ठाउँदेखि खोलाको बाढी सिधै बस्तीमा पसेर घर डुवानमा पर्ने गरेको उनकाे भनाइ छ।

विराटनगर १४ का वडाअध्यक्ष बलदेव यादवले खोलामा ट्याक्टर गएर उत्खनन भइरहेको बारे आफूलाई जानकारी नभएको बताए। सिंघिया खोलामा बालुवा चोरी निकासी हुने स्थान भएकाले उत्खनन भइरहेको छैन भन्न नसकिने उनकाे भनाइ छ।

इलका प्रहरी कार्यालय रानी विराटनगरका प्रमुख प्रहरी निरीक्षक प्रकाश राउतले विराटनगर १४ जतुवास्थित सिंघिया खोलामा साइकमा अवैध उत्खनन हुने गरेको पाइएपछि प्रहरीले निगरानी बढाएको बताए। अवैध उत्खनन भएको पाइए सवारी साधनहरु नियन्त्रणमा लिएर कारावहीको लागि स्थानिय तहमा पठाउने गरिएकाे उनकाे भनाइ छ।

फागुन १७, २०७८ मंगलबार १६:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।