होटलमा महिलाको शव फेला, हत्याको आशंका

होटलमा महिलाको शव फेला, हत्याको आशंका

मंगलबार बिहान कोठा सफा गर्न गएका बेला होटलका कर्मचारीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। अन्दाजी ३०–३५ वर्षीय महिलाको शव फेला परेको सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए।

होटल सञ्चालक सुशील जिमीका अनुसार दुई दिनदेखि ती महिलासँगै एक जना पुरुष होटलको १०९ नंको कोठा बुक गरेर बसेका र बिहान सरसफाइ गर्ने क्रममा ढोकाको चुकुल नलगाएको देखेर कोठमा छिरेका कर्मचारीले बेडमा सुतेकै अवस्थामा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

सोमबार बेलुकासम्म महिला र एक पुरुषसँगै बसे पनि बिहान भने ती पुरुष नभएको होटल सञ्चालकको भनाइ छ। फरार रहेका ती पुरुष र मृतक महिलाबीचको सम्बन्ध अझै खुल्न नसकेको सुनसरी प्रहरीले जनाएको छ। महिलाको शरीरमा चोट पटक लागेको देखिएको र सँगै रहेका पुरुष फरार रहेका कारण महिलाको हत्या भएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ।

घटनाको विषयमा अनुसन्धान भइरहको र महिलाको सनाखत हुन बाँकी रहेको  प्रहरी उपरीक्षक थापाले बताए। ती महिला बसेको कोठामा सुमित्रा तामाङ लेखिएको परिचय पत्र फेला परेको र परिचय पत्रका आधारमा सनाखतका लागि प्रहरीले महिलाको आफन्तलाई बोलाएको उनले बताए। महिलाको अनुहारमा पनि चोटपटक रहेका कारण घटना शङ्कास्पद रहेको प्रहरीको भनाइ छ।

फागुन १७, २०७८ मंगलबार १५:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।