जहाँ बिरामीका लागि  घरबाटै पानी लानुपर्छ

जहाँ बिरामीका लागि  घरबाटै पानी लानुपर्छ

दाङः स्वास्थ्यका लागि पानी अपरिहार्य मानिन्छ तर दाङको एक स्वास्थ्य चौकीका  बिरामीले पानी खान पनि पाउँदैनन् । तुलसीपुर उपमहानगरपालिका–१३ फुलबारीस्थित स्वास्थ्य चौकीमा अहिलेसम्म पनि  खानेपानीको व्यवस्था  छैन।

विसं २०३१ देखि त्यस क्षेत्रमा सञ्चालित उक्त स्वास्थ्य  चौकीमा पानी नहुँदा बिरामीले पनि पानी घरबाटै ल्याउनुपर्ने अवस्था रहेको स्वास्थ्य चौकीका इञ्चार्ज ज्ञानबहादुर डाँगीले बताए।  स्वास्थ्य चौकीमा सबैभन्दा समस्या खानेपानीकै भएको कारण पानीको व्यवस्था नभएकाले बिरामीले घरबाटै पानी बोकेर ल्याउनुपर्ने अवस्था रहेको उनको भनाइ छ । 

स्वानस्थ्य चौकीमा  कार्यरत कर्मचारीले पनि घरबाटै पानी बोकेर ल्याउनुपर्ने बाध्यता रहेको र बिरामीलाई पनि कहिलेकाहीँ औषधि खुवाउन कर्मचारीले नै पानी ल्याएर खुवाउनुपर्ने अवस्था रहेको उनले बताए। 

धारा जडानका लागि पटक–पटक सम्बन्धित निकायमा आग्रह गरिए पनि त्यसले सार्थकता पाउन नसकेको र कार्यालयमा स्यालो ट्युबेल जडान गर्न सकिने भएकाले यसका लागि पनि  भने छलफल अघि बढाइएको इञ्चार्ज डाँगीले बताए। 

उक्त स्वास्थ्य चौकीमा एक अनमी, दुई अहेब, एक जनस्वास्थ्य निरीक्षक, एक  ल्याब असिस्टेन्ट कार्यरत छन् । त्यहाँ ल्याब, बर्थिङ सेन्टरलगायत सेवा पनि सञ्चालनमा रहेपनि मापदण्डअनुसारको भवन नहुँदा समस्या भएको इञ्चार्ज डाँगीको भनाइ छ। स्वास्थ्य चाअैकीको १० कठ्ठा जग्गा रहेको र त्यहाँ राम्रो मापदण्ड भएको भवन निर्माण गर्न सकिने भएपनि अहिलेसम्म पुरानै भवनबाट जेनतेन धानी रहनु परेको उनले बताए। मापदण्ड अनुसारका भवन नहुँदा समस्या भएको बताउँदै एउटा कोभिड भवन पनि आवश्यक रहेको डाँगीले बताए।

ल्याबका लागि चाहिने आवश्यक सामग्रीसमेत उपमहानगरपालिकाले  उपलब्ध नगराएकाले कर्मचारीले नै  ल्याउनुपर्ने बाध्यता रहेको कर्मचारीको गुनासो रहेको छ।

उक्त स्वास्थ्य चौकीबारे गुनासो बढेपछि बल्ल लुम्बिनी प्रदेशका स्वास्थ्य  राज्यमन्त्री बिमलाकुमारी खत्री(वली)ले चासो देखाएकी छन्। स्वास्थ्य चौकीको अनुगमनपछि त्यसलाई सुधार गर्न पहल थाल्ने उनले बताइन्। 

स्वास्थ्य चौकीमा रहेको बर्थिङ सेन्टरमा मासिक सरदर छ जनाले सेवा लिने गरेका  छन्। ल्याब सेवामा  मासिक सरदर २०–२२ जनाले सेवा लिने गरेका स्वास्थ्य चौकीले जनाएको छ।

 

फागुन १७, २०७८ मंगलबार १३:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।