कर्फ्यु उल्लङ्घन गर्दै प्रदर्शनकारीले प्रहार गरे प्रहरीमाथि ढुंगा

कर्फ्यु उल्लङ्घन गर्दै प्रदर्शनकारीले प्रहार गरे प्रहरीमाथि ढुंगा

सुर्खेतः सुर्खेतको वीरेन्द्रनगरमा लगाइएको कर्फ्यु उल्लंघन गर्दै प्रदर्शनकारीहरुले प्रहरीमाथि ढुंगा प्रहार गरेका छन्। एमसीसीको विरोधमा सोमबार प्रदर्शनकारीले वीरेन्द्रनगरमा अराजक गसतविधि र राजनीतिक दलका पार्टी कार्यालय तोडफोड गर्न थालेपछि हिँजो साढे सात बजेदेखि आज साँझ सात बजेसम्म कर्फ्यु जारी गरेको छ।

प्रहरीले कर्फ्यु उल्लंघन गर्ने २३ प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ भने झडपमा नगर प्रहरी कार्यालय वीरेन्द्रनगरका प्रमुख इन्सपेक्टरसहित १८ प्रहरी घाइते भएका छन्। घरबाहिर ननिस्कन आग्रह गर्दै माइकिङ गरिरहेका प्रहरीमाथि प्रदर्शनकारीले ढुंगा प्रहार गर्दा नगर प्रहरी प्रमुख लालबहादुर सुनार पनि घाइते भएका हुन्।

झडपमा दुईजना सर्वसाधारण समेत घाइते भएका छन्। अनावश्यक सडकमा निस्के गोली हान्ने आदेश जिल्ला प्रहरी कार्यालय सुर्खेतले आज कसैलाई पनि सडकमा ननिस्कन आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालयमा रहेको जिल्ला सुरक्षा समितिको बैठकले आदेश उल्लंघन गर्नेलाई गोलीसमेत हान्नसक्ने आदेश दिएको छ।

आफूहरू सकेसम्म परिस्थिति नबिग्रियोस् भन्नेमा केन्द्रीत भएकाे कारण हिजो बेलुकादेखि नै कर्फ्यु आदेश जारी भएको स्थानमा निरन्तर सडकमा ननिस्कन नागरिकलाई माइकिङ गर्दै सूचना प्रबाह गरिरहेकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी डिएसपी रामप्रसाद घर्तीले बताए ।

उनले अहिले परिस्थिति पूर्णरुपमा नियन्त्रणमा रहेकाे बताए । उनले हिजोको जस्तै अवस्था आए प्रशासनले दिएको आदेशअनुसार कारबाही गर्ने बताएका छन् ।

फागुन १७, २०७८ मंगलबार १०:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।