रतुवा मृग मारेको आरोपमा सङ्खुवासभाबाट एक जना पक्राउ

सङ्खुवासभाः जिल्लाको चैनपुर नगरपालिका–७ बालेश्वर गुफाबाट रतुवा मृग मारेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सभापोखरी गाउँपालिका घर भई हाल चैनपुर–७ फलाटे बस्ने ३५ वर्षीय दिलबहादुर श्रेष्ठ रहेका छन्।
ईलाका प्रहरी कार्यालय चैनपुरका प्रमुख प्रहरी निरीक्षक योजराज खतिवडाका अनुसार अस्थायी प्रहरी चौकी पिलुवाखोलाबाट खटिएको प्रहरीको गस्ती टोलीले बोरामा लुकाइराखेको रतुवा मृगसहित श्रेष्ठलाई पक्राउ गरेको हो। श्रेष्ठको साथबाट एक थान भरुवा बन्दुक समेत फेला प्रहरी निरीक्षक खतिवडाले बताए।
पक्राउ परेका श्रेष्ठलाई जिल्ला अदालत सङ्खुवासभाबाट सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ। थप अनुसन्धानका लागि रतुवा मृग चैनपुर सबडिभिजन वन कार्यालय पोखरी पठाइएको खतिवडाले बताए।
पक्राउ परेका श्रेष्ठलाई हातहतियार खरखजाना मुद्दामा म्याद थप गरिएको छ।
फागुन १७, २०७८ मंगलबार ०९:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।