एमसिसी पास भएपछि अमेरिकी दूतावासले भन्यो : नेपाल सरकार अगाडि बढ्न सक्ने अवस्था बन्यो

एमसिसी पास भएपछि अमेरिकी दूतावासले भन्यो : नेपाल सरकार अगाडि बढ्न सक्ने अवस्था बन्यो

काठमाडौँ : संसदबाट व्याख्यात्मक प्रस्तावसहित पास भएको अमेरिकाको सहयोग सम्बन्धी सम्झौताबारे प्रतिक्रियादिँदै नेपालस्थित अमेरिकी दूतावासले नेपाल र नेपालको लोकतान्त्रिक मूल्यमान्यता र दीर्घकालीन आर्थिक समृद्धिलाई निरन्तर रूपमा समर्थन गर्ने उल्लेख गरेको छ।

अमेरिका र नेपालबिचको सम्बन्ध एउटा सम्झौताभन्दा धेरै फराकिलो रहेको उल्लेख गर्दै उसले ५० करोड अमेरिकी डलरको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को नेपाल कम्प्याक्टलाई अनुमोदन गर्ने या नगर्ने भन्ने निर्णय सार्वभौम लोकतान्त्रिक राष्ट्रका रूपमा सधैँ नेपाल सरकारको हातमा रहेको उल्लेख गरेको छ।

'हस्ताक्षरित प्रतिबद्धतालाई पूरा गर्दै कम्प्याक्टलाई अनुमोदन गर्ने संसद्‌को आजको निर्णयका कारण नेपाली जनताका लागि थप रोजगारीको सिर्जना हुनेछ, विद्युत् सेवाको आपूर्तिमा वृद्धि हुनेछ र ढुवानीको खर्च घट्नेछ' उसले भनेको छ।

झन्डै २० वर्षअघि एमसीसीको स्थापना भएयता एमसीसी कम्प्याक्टहरूले विश्वभर नै गरिबी निवारणमा मद्दत गरेको, आर्थिक स्वतन्त्रता, आफ्ना नागरिकमाथिको लगानी र लोकतान्त्रिक सिद्धान्तको प्रवर्द्धन तथा भ्रष्टाचारविरुद्धको लडाइँसहितको सुशासनप्रति कटिबद्ध विकासोन्मुख राष्ट्रहरूसँग साझेदारी गर्दै एमसीसीले कम्प्याक्ट सम्झौता गर्ने उल्लेख छ।

२ करोड ३० लाखभन्दा बढी नेपाली जनतालाई सहयोग गर्ने आशासहित नेपालका ऊर्जा र यातायातका क्षेत्रमा आधुनिकीकरण गर्ने लक्ष्य निर्धारण गरेपछि नेपाल सरकारले सन् २०१७ मा एमसीसी सम्झौतामा हस्ताक्षर गरेको र अब यस पाँच-वर्षीय कार्यक्रमको कार्यान्वयनको दिशामा नेपाल सरकार अगाडि बढ्न सक्ने अवस्था बनेको उसले बताएको छ।

फागुन १६, २०७८ सोमबार १८:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।