एमसिसीको विरोध गर्ने नारायणकाजीलाई प्रचण्डको सुझाव : दोस्रो बामदेव नहुनु

काठमाडौँ : एमसिसी सम्झौतामा पार्टी सहमत भए पनि विपक्षमा धारणा सार्वजनिक गरेका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ बामदेव गौतमको बाटोमा हिँडेको सोही पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टिप्पणी गरेका छन्।
उनले एमसिसी सम्झौता पारित भएकोमा भावुक नहुन पार्टीका नेताहरूलाई आग्रह गर्दै महाकाली सन्धि भएपछि असहमति जनाउँदै एमालेका तत्कालीन नेता बामदेव गौतमले नेकपा माले गठन गरेको प्रसङ्ग उप्काएका थिए।
बामदेवले महाकाली सन्धिप्रति असहमति जनाउँदै एमाले फुटाएर माले बनाए पनि निर्वाचनमा लज्जास्पद हार भएपछि पछि एमालेमै फर्किएका थिए। उनले आफ्नो पार्टीमा रहेका कुनै नेताले गौतमको बाटो रोजे रोक्न नसक्ने भन्दै श्रेष्ठलाई असहमति भए पार्टी छाड्न अप्रत्यक्षता चुनौती दिए।
सोमबार उनले व्याख्यात्मक प्रस्तावसहित एमिसिसी सांसदबाट पारित गर्नेबारे पार्टीमा भएको छलफलमा असहमत साथीहरूलाई पार्टीभित्रै छलफल गर्न आग्रह गरेको बताएका थिए। तर एमसिसी सम्झौता पास भएपछि श्रेष्ठले ट्विट गर्दै आफ्नो असन्तुष्टि राखेका थिए।
श्रेष्ठले आइतबार बेलुका 'अन्ततः व्याख्यात्मक घोषणाको सुनियोजित भ्रम छर्दै आज राष्ट्रघाती एमसिसि सम्झौता संसदबाट अनुमोदन गराई छाडे।आम देशभक्त नेपाली जनताले यसलाई कालो दिनको रूपमा लिनेछन्। सम्पूर्ण देशभक्त शक्तिहरू एकताबद्ध होऔँ र नेपालको राष्ट्रिय सार्वभौमिकता,स्वाधीनता र हितको सङ्घर्षलाई निरन्तर जारी राखौँ' भन्दै ट्विट गरेका थिए।
उनले यति भनेपछि माओवादी केन्द्रका कार्यकर्ता आफूतिर आउने श्रेष्ठले सोचेको हो भने त्यस्तो नहुने दाबी गरेका थिए।
फागुन १६, २०७८ सोमबार १७:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।