तिलोत्तमा नगरपालिकालाई कोरोना विरुद्धको पूर्णखोप सुनिश्चितता घोषणा

तिलोत्तमा नगरपालिकालाई कोरोना विरुद्धको पूर्णखोप सुनिश्चितता घोषणा

रुपन्देहीः रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई कोरोना विरुद्धको पूर्णखोप सुनिश्चितता घोषणा गरिएको छ। १२ वर्षमाथिका सबै नागरिकले कोरोना विरुद्धको खोप लगाएपछि तिलोत्तमालाई मुलुककैं पहिलो कोरोना विरुद्धको पूर्णखोप सुनिश्चितता घोषणा गरिएको हो।

आइतबार गरिएको घोषणालाई सोमबार नगरपालिकामा आयोजित एक कार्यक्रमबीच जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका संयोजक एकराज विश्वकर्माले सार्वजनिक गरे। नेपाल सरकारले ल्याएको पूर्णखोपको अवधारणाअनुसार तिलोत्तमालाई पूर्णखोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको छ।

त्यसअवसरमा जिल्ला समन्वय समितिका प्रमुख विश्वकर्माले तिलोत्तमाले नगरलाई पूर्णखोप घोषणा गरेर नगरबासीको स्वास्थ्यप्रति जिम्मेवार बनेको बताए। तिलोत्तमाले सरसफाई, शिक्षा, स्वास्थ्यमा दिएको प्राथमिकता अन्य पालिकाका लागि सिकाइ बनेको बताउँदै घोषणालाई दिगो बनाइनुपर्नेमा जोड दिए।

यस्तै स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालले तिलोत्तमा कार्यविधिअनुसार काम गरेर मुलुकमैं पहिलो कोरोना विरुद्धको खोप सुनिश्चितता भएको पालिका बन्न सफल बनेको बताए।  उनले अब बुष्टर डोजलाई पनि यसैगरी अघि बढाउनुपर्ने बताए । नगर प्रमुख बासुदेव घिमिरेले खोप अभियानमा सहभागी सबैप्रति धन्यवाद ज्ञापन गर्दै खोपको दिगोपनको लागि नगरपालिकाले योजनाबद्ध रुपमा काम गर्ने बताए।

त्यसअवसरमा जिल्ला खोप समन्वय समितिले नगरपालिकालाई पूर्णखोप भएको प्रमाणपत्र प्रदान गरेको थियो। तिलोत्तमा नगरपालिकामा १२ वर्षमाथिका १ लाख २८ हजार ५३० जनाले कोरोना विरुद्धको खोप लगाएका छन्। खोप लगाएकामध्ये १२ देखि १७ वर्षका १४ हजार ८० जना र १८ वर्षदेखि माथिका ८१ हजार ८८६ जना रहेका छन्।

लक्षित जनसंख्या ९५ हजार ९६६ रहेकोमा तिलोत्तमामा लक्षितभन्दा बढीले कोरोना विरुद्धको खोप लगाएका हुन् । नगरपालिकाभन्दा बाहिरका व्यक्तिहरुले समेत यहाँका स्वास्थ्य संस्थामा खोप लगाएकोले लक्ष्यभन्दा बढी प्रगति हासिल भएको स्वास्थ्य शाखाले जनाएको छ। परिवार सर्वेक्षण गरेर छुटेका ७ हजार ७७ जनालाई खोप लगाइएसँगै तिलोत्तमा कोरोना विरुद्धको खोप सुनिश्चितता भएको पहिलो पालिका बनेको हो।

खोप लगाउन बाँकी रहेका व्यक्ति पहिचान गर्न नगरपालिकाले स्वास्थ्य स्वयंसेविका र टोल विकास संस्थाका पदाधिकारी सम्मिलित घरधुरी सर्वेक्षण टोली परिचालन गरेको थियो।

फागुन १६, २०७८ सोमबार १५:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।