जनप्रतिनिधिसँग खुसी छैनन् सप्तरीका ग्रामीण महिला

सप्तरीः सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाखमा गर्नेगरी घोषणा गरेको छ। यदि निर्धारित मितिमै निर्वाचन भए अबको ७५ दिनमा स्थानीय तहको निर्वाचन सम्पन्न हुनेछ।
निर्वाचनको मिति नजिकिएसँगै करिब पाँच वर्षदेखि केन्द्रमै रहेका नेताहरू गाउँ पस्न थालेका छन्। तर, गाउँमै रहेका मतदाता भने जनप्रतिनिधि र निर्वाचन प्रक्रियादेखि रुष्ट भएका छन्। सप्तरीको ग्रामीण भेगमा बस्ने महिलाहरूले यस्ता निर्वाचनले उनीहरूलाई कुनै अर्थ नराख्ने गुनासो गरेका छन् ।
राजविराज नगरपालिका–१ की ८० वर्षीया बेचनीदेवी खंग गत शनिवार बिहान थर थर काम्दै गोठको धन्दा गर्दै थिइन्। आँगनमा रहेका पुरुषहरू भने स्थानीय तहको निर्वाचनको विषयमा गर्मागर्मी वहस गरिरहेका भए पनि त्यो वहसको आवाज उनको कानमा परे पनि वास्तै नगरी आफ्नै धुनमा काम गरिरहेकी थिइन्।
चुनावमा मत खसाल्न थालेको ६० वर्ष भयो, सुरूसुुरूमा त आफ्नो मान्छेलाई जिताए सहयोग होला की जस्तो लाग्ने गरेको भए पनि अनुभव कहिल्यै लिन नपाएको उनको भनाइ छ । मत दिएर जिताए पनि कसैको सहयोग नगरेको उनले दुखेसो गरिन्। जितेपछि आफ्नै नातागोतालाई मात्र सहयोग गर्ने भएका कारण अब मर्ने बेलामा कसैलाई मत हाल्न मन नलागेको उनले बताइन्।
जुन चुनाव आए पनि कमाएर आफैले खानु पर्ने र जितेको जनप्रतिनिधिले केही सहयोग गर्नु त, कता कता अन्याय पर्दा पनि आपm्निो पक्षमा बोल्ने नगरेका सोही ठाउँकी ६५ वर्षया श्रद्धादेवी खंगले बताइन्।
अन्यायमा परेको बेला समेत जनप्रतिनिधि यथार्थ कुरा नबोल्दा आफूहरुलाई जनप्रतिनिधि भए नभएको केही अनसभव नभएको बताईन्।
भोट माग्ने बेलामा मात्र जनप्रतिनिधिले जनतालाई खोज्ने र बाँकी समय आफै हराउने गरेको राजविराज–८ की ४५ वर्षीया अनिता यादवले बताइन। यस्तो प्रवृत्ति जबसम्म रहन्छ तबसम्म चुनावप्रति सकारात्मक हुन नसकिने उनको भनाइ छ। निर्वाचनका बेला उम्मेदवारहरूले मिठामिठा कुरा गरेर जनताको घरघरमा पुगेर नमस्कार गर्ने गरेपनि जितेपछि नदेखे जस्तो गरी हिड्ने गरेको ५० वर्षीया ममता मण्डलले बताइन्।
प्रजातान्त्रिक अभ्यास जनताले आफ्नो मताधिकार प्रयोग गरे पनि उनीहरूको मताधिकारको व्यवहारमा सदुपयोग हुन नसकेको अधिवक्ता राजेन्द्रप्रसाद देव बताउँछन्। तपाईंलाई किन मत? भन्ने प्रश्नमा उम्मेदवारहरूले आ–आफ्ना घोषणापत्रमा ठूलाठूला काम गर्ने दावी गरे पनि व्यवहारमा लागु गर्न नसकेकाले चुनावप्रतिको जनताको उत्साह घट्दै गएको उनको भनाइ छ।
फागुन १६, २०७८ सोमबार १३:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।