पुनः भयो ‘सशस्त्र युद्ध’को घोषणा, प्रहरी अनभिज्ञ

झापा:भूमिगत शैलीमा आतङक सिर्जना गरिरहेको हिमाल सुरक्षा परिषद नेपालले सशस्त्र युद्धको घोषणा गरेको छ। आइतबार एक विज्ञप्ती जारी गर्दै हिमाल सुरक्षा परिषद नेपालले संवैधानिक राजतन्त्र, बहुदलिय प्रजातन्त्रसहित २०४७ सालको संविधान लागू गर्न माग गर्दै सशस्त्र युद्धको घोषणा गरेको हो।
हिमाल सुरक्षा परिषद् नेपालका केन्द्रीय अध्यक्षको हस्ताक्षरसहित प्राप्त विज्ञप्तिमा भनिएको– यो देशको परिस्थिति भ्रष्ट्राचार देशद्रोही र खर्चिलो संघीयतालाई ध्यान दिएर सशस्त्र युद्धको घोषणा गर्दछौं भनिएको छ। परिषद्ले विभिन्न २० बुँदे माग समेत राखेको छ।
परिषद्ले संघीयता खारेज, ५ विकास क्षेत्र कायम गरिनुपर्ने, हिन्दू राष्ट्र कामय गर्नुपर्ने, नागरिकता छानबिन गर्नुपर्ने, भारत–चीन सीमा विवाद समाधान गरिनुपर्ने, स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने, एमसीसी सम्झौता खारेज गरिनुपर्ने लगायतका मागहरु अघि सारेको छ।
यसैबीच झापाको विर्तामोड र दमकमा बम आतङ्क सिर्जना गरेको हिमाल सुरक्षा परिषद् नेपालका ९ जनालाईं प्रहरीले पक्राउ गरिसकेको छ। विज्ञप्तिको विषयमा भने झापा प्रहरीले अनभिज्ञता प्रकट गरेको छ। हिमाल सुरक्षा परिषद् नेपालले सशस्त्र युद्ध घोषणा गरेको विषयमा कुनै जानकारी प्राप्त नभएको बताउँदै जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले हिमाल सुरक्षा परिषद् नेपाल एउटा आपराधिक समूह भएकाले उनीहरुको खोजी तीव्र बनाइएको जानकारी गराए।
सञ्चारमाध्यमलाई हिमाल सुरक्षा परिषद् नेपालको पत्र प्राप्त भएको जानकारी लगत्तै झापामा हिमाल सुरक्षा परिषद्को खोजीलाई अझ सुक्ष्म ढंगले अघि बढाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक गुरुप्रसाद तिम्सिनाले बताए। हिमाल सुरक्षा परिषद्को नाममा चन्दा आतङक सिर्जना गर्ने समूह सक्रिय रहेको र हिमाल सुरक्षा परिषद् नेपालका केही शंकास्पद व्यक्ति प्रहरीको निगरानीमा रहेको बताउँदै केही अझै फरार रहेकाले खोजी तीव्र बनाएको प्रहरी निरीक्षक तिम्सिनाकाे भनाइ छ।
यसअघि प्रहरीले हिमाल सुरक्षा परिषद् नेपालका गौरादह–२ का ३८ वर्षीय सुमनकुमार कार्की, कनकाई–३ का ४१ वर्षीय भीष्म थापा, दमक–९ की ५० वर्षीया देवी बाँस्कोटा गुरागाईं, कनकाई–३ का ५८ वर्षीय कुमार भन्ने यमदत्त सिटौला, शिवसताक्षी–१ का ३२ वर्षीय सरुण लिम्बू भनिने दिलकुमार सामेखाम, संखुवासभा खाँदवारी–१० घर भई मोरङ सुन्दर हरैचा बस्ने २९ वर्षीय मनोमहन दाहाल, गौरीगञ्ज–३ का ३२ वर्षीय आनन्द भनिने अनन्तप्रसाद गिरी, गौरादह–५ का ३३ वर्षीय प्रदीप थापा, गौरीगञ्ज–३ का ४५ वर्षीय विजयकुमार दास हलुवाईलाई पक्राउ गरेर सार्वजानिक गरिसकेको छ।
फागुन १६, २०७८ सोमबार १२:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।