बैतडीमा स्थानीय तह निर्वाचनको तयारी तीव्र

बैतडीमा स्थानीय तह निर्वाचनको तयारी तीव्र

बैतडीः जिल्ला निर्वाचन कार्यालय बैतडीले आगामी स्थानीय तहको निर्वाचनको आन्तरिक तयारीलाई तीव्रता दिएको छ ।  सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति तोकेसँगै निर्वाचन कार्यालय तयारीमा जुटेको हो ।  

मिति घोषणासँगै मतदाता नामावली सङ्कलन स्थगित गरिएको छ भने अहिले मतदाता नामावली अध्यावधिक गर्ने काम भइरहेको जिल्ला निर्वाचन कार्यलयले जनाएको छ। हाल नामावलीउपर दाबी विरोध गर्न आह्वान गरिएको र सरकारले तोकेकै मितिमा निर्वाचन गर्नका लागि आन्तरिक तयारी थालिएको कार्यालय प्रमुख माधव फुँयालले जानकारी दिए। 
मतदाता परिचयपत्र हराएका अवस्थामा नयाँ बनाउने प्रयोजनका लागि निवेदन दिन आह्वान गर्नुका साथै यही फागुन १९ मतदाता नामावली प्रकाशित गरिने भएको छ ।  फागुन १९ गते जिल्लाका सबै वडामा मतदाता नामावली प्रकाशन गर्ने तयारी गरिएको र त्यसपछि निर्वाचन कार्यालयलमा सच्याउने, हटाउने काम हुने उनले बताए ।

मतदाता नामावली प्रकाशन भएपछि मृत्यु भएका, बसाइँसराइ गरेका नामउपर दाबी विरोधको समय फागुन २३ गतेसम्म राखिएको छ । फागुन २३ गतेसम्म दाबी विरोधको फारम निर्वाचन कार्यालयमा बुझाइसक्नुपर्ने छ । यसका साथै निर्वाचन कार्यालयले मतदाता नामावली प्रकाशन गर्न, निर्वाचन केन्द्र र सङ्ख्या निर्धारण गर्न, कर्मचारी व्यवस्थापन गर्ने कार्यको समेत तयारी थालेको  छ ।  

जिल्लामा स्थानीय तह निर्वाचनका लागि १२९ मतदानस्थल तोकिएका छन् । एक लाख ५० हजार बढीले फोटोसहितको मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएको निर्वाचन कार्यालयले  बैतडीले जनाएको छ ।  

फागुन १६, २०७८ सोमबार ११:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।