खोटाङको दिप्रुङमा नागरिक आरोग्य सेवा केन्द्र विस्तार 

खोटाङको दिप्रुङमा नागरिक आरोग्य सेवा केन्द्र विस्तार 

खोटाङः खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरीमा नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरिएको छ। सर्वसाधारणलाई उपचारात्मक सेवा प्रदान गर्नेदेखि स्वस्थ जीवनशैलीकाबारेमा जनचेतना अभिवृद्धि गर्ने लक्ष्यका साथ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङले सछितापोखरीको पञ्चमीबजारमा नागरिक आरोेग्य सेवा केन्द्र विस्तार गरेको हो।

पञ्चमीबजारमा स्थापना गरिएको नागरिक आरोग्य सेवा केन्द्र आइतबार जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङले उद्घाटन गरेका थिए।

कार्यालयमा एक जना वैद्य र एक जना कार्यालय सहयोगी नियुक्त गरेर गाउँपालिकाले उपलव्ध गराएको स्थानबाट नागरिक आरोग्य सेवा केन्द्रको सेवा सुरु गरिएको जनाइएको छ। नागरिक आरोग्य सेवा केन्द्रबाट उपचारात्मक सेवा, निरोगी रहन स्वस्थ्य जीवन कार्यक्रम, योग, पञ्चकर्म, स्तनपायी आमालाई दुध वर्द्धक औषधि वितरण, ज्येष्ठ नागरिकको स्वास्थ्य वर्द्धन गर्ने औषधि वितरण लगायतका सेवा उपलव्ध गराइने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त कार्यालय प्रमुख अजयकुमार झाले बताए।
नागरिक आरोग्य सेवा केन्द्रबाट उपचारात्मक सेवा उपलव्ध हुने बताउँदै नागरीकलाई स्वस्थ रहने बारेमा जनचेतना अभिवृद्धि गर्ने खालका कार्यक्रम पनि सञ्चालन गरिने उनकाे भनाइ छ। 

प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, प्रदेश नम्बर १ स्वास्थ्य निर्देशनालय अन्तरगत आयुर्वेद स्वास्थ्य केन्द्रले जिल्लाका विभिन्न स्थानीय तहमा नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरिसकेको छ। गत २८ बैसाखमा ऐसेलुखर्क गाउँपालिकाको ऐसेलुखर्क, २४ वैसाखमा केपिलासगढी गाउँपालिकाको बाक्सिलाबजार, २७ जेठमा साकेला गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरिएको थियो। 

फागुन १६, २०७८ सोमबार ११:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।