हायस र मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु, तीन घाइते

दाङः तुलसीपुर उपमहानगरपालिका-१८ दूधरासमा गए राति हायस माइक्रो बस र मोटरसाइकल एकापसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ। सोही दुर्घटनामा तीन जना घाइते भएका छन्।
घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको बा३ख ८६४३ नम्बरको हायस र विपरीत दिशाबाट आएको हाल नम्बर नखुलेको मोटरसाइकल आपसमा ठोकिएको थियो।
दुर्घटनामा हाइस माइक्रोका चालक तुलसीपुरका २६ वर्षीय करण परियार, हाइसमा सवार कमल परियार, मोटरसाइकलका चालक रमेश वली र तुलसीपुर उपमहानगपालिका- १८ मनिकापुरका २१ वर्षीय रेशम चौधरी घाइते भएका थिए। घाइतेमध्ये चौधरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो।
अन्य घाइतेहरूलाई थप उपचारको लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर पठाइएको छ। गए राति ९ बजे भएको उक्त सवारी दुर्घटनालगत्तै मोटरसाइकलको ट्याङकी अचानक पड्किएर आगो लाग्दा मोटरसाइकल जलेर नष्ट भएको छ।
आगोले हायसमा समेत क्षति पुगेको छ। स्थानीय र दमकलको सहयोगमा आगो राति पौने १० बजे नियन्त्रणमा लिएको थियो।
फागुन १६, २०७८ सोमबार १०:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।