व्याख्यात्मक टिप्पणीप्रति असन्तुष्ट नेताहरूले संसदीय दलको बैठकमा आवाज उठाउने

काठमाडौंः व्याख्यात्मक टिप्पणीसहित एमसीसी पास गर्ने माओवादी केन्द्रको निर्णयमा असन्तुष्ट रहेको माओवादीका नेताहरूले संसदीय दलको बैठकमा सो निर्णयविरुद्ध आवाज उठाउने भएका छन्। बिहान खुमलटारको पूर्वस्थायी कमिटीको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले गठबन्धन र संविधान जोगाउन एमसीसी पारित गर्ने प्रस्ताव राख्दा नारायणकाजी श्रेष्ठ, लीलामणी पोखरेल, देव गुरुङ, गिरिराजमणी पोखरेल र कृष्णबहादुर महराले असहमति जनाएका थिए।
व्याख्यात्मक टिप्पणी आत्मरतिबाहेक केही नभएको र त्यो सम्झौताको अंग बन्न नसक्ने भन्दै पाँच नेताको आपत्ति छ। ‘व्याख्यात्मक टिप्प्णीको कुनै अर्थ छैन। यसको कुनै भ्यालिडिटी पनि छैन। त्यो व्याख्यात्मक टिप्पणीमा महत्त्वपूर्ण कुराहरू पनि छैनन्’, माओवादी नेता लिलामणि पोखरेलले भने।
यस्तै नेता श्रेष्ठले पार्टीको निर्णयप्रति गम्भीर असहमति र आपत्ति रहेको सामाजिक सञ्जालमा लेखेका छन्। ‘५ दलीय गठबन्धनमा अध्यक्ष कमरेड प्रचण्डले व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता अनुमोदन गर्ने जानकारी गराउनु भएको छ। यो निर्णयप्रति मेरो गम्भीर असहमति र आपत्ति रहेको छ। आज बिहान पार्टीको छलफलमा म लगायत केही कमरेडहरूले मतभेद राखिसकेका छौं। यो महाधिवेशनको विरुद्ध छ र गलत छ’, उनले सामाजिक सञ्जालमा लेखेका छन्।
श्रेष्ठले पार्टीले निर्णय गरे पनि एमसीसीको विपक्षमा मतदान गर्ने बताउँदै आएका छन्।
अर्का नेता गिरिराजमणि पोखरेलले भने संसदीय दलको बैठकमा कुरा राख्ने बताए। ‘संसदीय बैठकमा कुरा राख्छौं त्यसपछि थप कुरा बोलौंला', पोखरेलले भने।
पार्टीभित्र संशोधनबिना एमसीसी कुनै हालतमा पास हुँदैन भनेका प्रचण्ड व्याख्यात्मक टिप्पणीसहित पास गर्न सहमत भएका छन्।
माओवादीका नेताहरूले सुझाएका संकल्प प्रस्तावसहित एमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्ने प्रस्तावमा एकीकृत समाजवादीले असहमति जनाएपछि पारित हुन सकेको थिएन।
फागुन १५, २०७८ आइतबार १३:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।