दुर्घटनामा वडाध्यक्षको मृत्यु भएपछि नगरपालिकाभर सार्वजनिक बिदा

सुर्खेतः दुर्घटनामा परी ज्यान गुमाएका भेरीगङ्गा नगरपालिकाका–१ सुर्खेतका वडाध्यक्ष नवराज कार्कीको शोकमा आज नगरपालिकामा सार्वजनिक बिदा दिइएको छ। नगरपालिकाले एक शोक वक्तव्य जारी गर्दै आज वडा कार्यालयसहित नगरपालिकाभित्रका सबै सरकारी कार्यालयमा सार्वजनिक बिदा दिएको हो।
रत्न राजमार्गअन्तर्गत भेरीगंगा नगरपालिका- १२ छिन्चु बजारनजिक नेपालगञ्जबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश-०२-००१ख ०५४६ नम्बरको फोर्स गाडीले वीरेन्द्रनगरबाट छिन्चु जाँदै गरेको भे६प ४४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा कार्की घाइते भएका थिए।
त्यसपछि हिजो उपचारको क्रममा काठमाडौंस्थित न्यूरो अस्पतालमा उनको निधन भएको हो।
मृतक कार्की २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। २०४८ सालमा जन्मिएका उनी सुर्खेतका सबैभन्दा कान्छा वडाध्यक्ष थिए।
उनी नेकपा माओवादी केन्द्र भेरीगंगा नगर कार्यसमितिको सचिव समेत थिए।
फागुन १५, २०७८ आइतबार १०:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।