पाँच मिनेटको फरकमा पक्राउबाट जोगिएका थिए पल

काठमाडौँ : नाबालिगको बलात्कार गरेको जाहेरी दर्ता भएपछि फरार भएका अभिनेता पल शाह पाँच मिनेटको फरकमा पक्राउबाट जोगिएको खुलेको छ।
शाहको सम्पर्कमा रहेको देखिएपछि फिल्म निर्देशक सुदर्शन थापासँग प्रहरीले गरेको सोधपुछमा फिल्म 'म यस्तो गीत गाउँछु-२' को प्रिमियरका लागि लाजिम्पाटमा मेकअप गर्दागर्दै जाहेरी परेको सूचना आएको र पल त्यहाँबाट हिँडेको पाँच मिनेटपछि प्रहरी पुगेको खुलेको छ।
'म र पल एकै ठाउँमा मेकअप गरिरहेका थियौँ। जाहेरी दर्ता भएको थाहा भएपछि उनले मलाई जानुस् भने। म हिँडेको केही समयपछि पल पनि हिँडेका रैछन्। त्यसको पाँच मिनेटपछि प्रहरी पुगेको रहेछ।'
थापासँग प्रहरीले करिब एक घण्टा सोधपुछ गरेको थियो। सोधपुछकोक्रममा प्रहरीले उनको मोबाइलको सम्पर्क हेरेको थियो। प्रहरी स्रोतका अनुसार जाहेरी दर्ता भएको बेलुका पल आफ्नो सम्पर्कमा आएर फिल्म नरोक्नु भनेको र कहाँ छौँ भनेर सोध्दा कतै छु, जहाँ छु सुरक्षित छु मात्र भनेको ठाउँ नखुलाएको उनले दाबी गरेका थिए।
उनको मोबाइलमा पल फेला पर्न सक्ने महत्त्वपूर्ण सूचना भने प्रहरीले पाउन सकेन। प्रहरीको सोधपुछमा सुदर्शनले तीन दिनदेखि पल सम्पर्कमा नभएको दाबी गरिरहे।
नाबालिगमाथि बलात्कार गरेको जाहेरी दर्ता भइसकेको र अदालतबाट पक्राउ आदेश भइसकेको आरोपीलाई जोगाउँदा आकर्षित हुने कानुनबारे जानकारी दिएर उनलाई 'खोजेको बेलामा उपस्थित हुने' सर्तमा प्रहरीले उनलाई छाडेको थिए।
गत बुधवार पलविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा नाबालिग गायिकालाई बलात्कार गरेको भन्दै जाहेरी परेको थियो। प्रहरी नियन्त्रणबाट मुक्त भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले पलले अभिनय गरेको फिल्मको निर्देशक भएकाले केही सम्पर्क भएको छ कि भनेर प्रहरीले सोधेको उनले बताएका थिए।
पल प्रकरणमा उकेरा निगरानी
फागुन १४, २०७८ शनिबार १८:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।