एमसिसीबारे एमालेसँग निर्णायक वार्ता गर्न कांग्रेस नेताहरू बालकोटमा

काठमाडौँ : अमेरिकी सहयोग सम्बन्धी सम्झौतामा सहमतिका लागि अन्तिम प्रयास गर्न नेपाली कांग्रेसका नेताहरू एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटमा रहेको घरमा पुगेका छन्।
संसद्मा जारी एमालेको अवरोध हटाउन र सबै दलको सहमतिमा एमसिसी पास गर्न पहल गर्दै कांग्रेस नेताहरू बालकोट पुगेका हुन्। एमाले र काग्रेंसका नेताहरूबिच पहिला छलफल गरेर सहमतिको वातावरण बनाएपछि प्रधानमन्त्री शेरबहादुर देउवासहित सहमति गर्ने तयारी छ।
एमसिसीको पक्षमा मतदान गर्नेबारेमा कांग्रेसले माओवादी नेताहरूलाई शनिवार ३ बजेसम्मको समय दिएको थियो। तर तोकिएको समयसम्म पनि माओवादीले आफ्नो धारणा ल्याउन सकेन। शनिवार बिहान भएको एक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमसिसीप्रति नरम देखिएका थिए।
उनले गठबन्धन जोगाएर गैर संवैधानिक राजनीतिक शक्तिलाई रोक्ने प्रयास जारी रहेको दाबी गरेका थिए। शनिवारै अर्को एक कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले संसद्मा पुगेको एमसिसी सम्झौता जस्ताको त्यस्तै पारित गर्न नसक्ने बताएका थिए।
माओवादी केन्द्र अनि एकीकृत समाजवादी प्रस्ट हुन नसकेपछि कांग्रेसले एमालेको सहयोगमा एमसिसी पारित गर्ने प्रयास गरिरहेको छ। तर सर्तका रूपमा एमालेले सभामुख अग्नि सापकोटालाई हटाउनुपर्ने, एकीकृत समाजवादीका सांसदहरूलाई कारबाही गर्नुपर्ने र गठबन्धन छाडेर अर्ली इलेक्सनमा जानुपर्ने सर्त राखिराखेको छ।
कांग्रेस-एमाले छलफलमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की छन् भने एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल छन्।
फागुन १४, २०७८ शनिबार १७:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।