संसारभरीका ज्योतिषलाई देखाए पनि गठबन्धनको आयु १ वर्ष : ओली

संसारभरीका ज्योतिषलाई देखाए पनि गठबन्धनको आयु १ वर्ष : ओली

काठमाडौँ :  एमाले अध्यक्ष केपी शर्मा ओली वर्तमान सत्ता गठबन्धनप्रति आक्रामक देखिएका छन्। तीन दिन अगाडि सरकार प्रमुख शेरबहादुर देउवा र उनीबिच भएको छलफलमा नयाँ समीकरणबारे छलफल भएको दाबी आएका थिए। तर शनिवारको उनको अभिव्यक्तिमा त्यसको सङ्केत देखिएन।

भक्तपुरमा सूर्य विनायक नगर अस्पतालको उद्घाटन कार्यक्रममा बोल्दै उनले गठबन्धनको आयु एक वर्ष मात्र भएको बताए। संसारभरिका ज्योतिषलाई देखाए पनि बढीमा एक वर्ष हो आयु भन्ने आउने उनको दाबी थियो।

उनले अहिलेको गठबन्धनलाई पानीमुनिबाट भए पनि ठेगान लगाइने बताए। स्वार्थी गठबन्ध भन्दै उनले मुलुकमा शान्ति सुरक्षा र विकासका लागि एमाले सरकार चाहिने बताए। उनले चुनावमा जालझेल गर्न नहुने भन्दै जालझेल भए प्रतिरोध गर्न एमाले सक्षम रहेको बताए।

अबको एक वर्षमा चुनाव हुनैपर्ने भन्दै उनले माधव नेपालसँगै एकीकृत समाजवादीमा गएकालाई एमाले फर्कन आग्रह गर्दै भने' एमाले भनेको लक्स साबुन हो।'

उनले अमेरिकी सहयोग सम्झौताबारे संसदले निर्णय गर्नुपर्ने समेत बताएका थिए। वर्तमान सरकारले नै एमसिसी सम्झौता गरेको र चुनावपछि एमालेको सरकार बनेपछि संसदमा लगेर छलफल गरौँ भन्दा नमानेर एमालेलाई सरकारबाट बाहिर पठाएपछि पास गर्ने रणनीतिक बनाएको उनको दाबी छ।

'एमालेलाई सरकार बाहिर पठाएर मात्र एमसिसी पास गर्ने भनेर लागे। अहिले हेरौँ त बिजोग,' ओलीले भने।

फागुन ७, २०७८ शनिबार १७:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।