एमसिसीबारे एकीकृत समाजवादीको निर्णयले देउवालाई राहत

काठमाडौँ : अमेरिकी परियोजना सम्झौता स्वीकार गर्ने या अस्वीकार त्यसको निर्णय सांसदबाट गर्नुपर्ने पक्षमा एकीकृत समाजवादी पार्टीको निर्णयसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले राहत पाएका छन्।
देउवाले पटक-पटक एमसिसी संसद्मा टेबल गर्न प्रयास गर्दै आए पनि सत्ताधारी दलकै असहयोगले सफल हुन सकेका थिएनन्। जस कारण पटक-पटक संसद् बैठक बस्दै स्थगित हुँदै आएको छ।
माओवादी केन्द्रको स्थायी कमिटीबाट उनले सोचेजस्तो निर्णय आएन। एकीकृत समाजवादीको स्थायी कमिटीको बैठकको निर्णय कुर्दै संसद् बैठक ८ गते सारेका थिए। आज बसेको एकीकृत समाजवादीले एमसिसी संसद्मा टेबल गराएर छलफल गराउन सहमत भएपछि देउवाले केही राहत पाए।
तर माओवादी केन्द्रको निर्णय भने यथावत् छ। अहिलेकै अवस्थामा एमसिसी पास गर्न हुन्न भन्ने मत माओवादीमा ठुलो छ। यता प्रधानमन्त्री देउवा फागुन १६ भित्र टुङ्गो लगाउनैपर्ने प्रेसरमा छन्।
नेपाली कांग्रेसले एकातिर एमसिसी पास गराउने माहौल बनाउन खोजिरहेको छ। सँगै उसले कुनै दल विशेषले भन्दा पनि सार्वभौम संसदबाटै यो स्वीकार या अस्विकारको निर्णय होस् भन्ने चाहन्छ। तर माओवादी संसद्मा टेबल गर्नै नदिने रणनीतिमा छ। तर शनिवारको एकीकृत समाजवादीको निर्णयले संसद्मा एमसिसी टेबल गर्न दिन माओवादीमा समेत दबाब बढाउने छ।
कांग्रेसले समेत पक्ष/विपक्ष जेमा मतदान गरे पनि यसलाई सांसदबाट टुङ्ग्याउन आग्रह गर्दै आएको छ। सम्झौतामै नेपालले चाहेमा ३० दिनको सूचना दिएर सम्झौता खारेज गर्नसक्ने प्रावधान छ। तर यो प्रावधानबाट चित्त बुझाउन नसकेका दललाई सहजीकरण गर्दै नेपालको हित विपरीत काम भए सम्झौता खारेज गर्ने सङ्कल्प प्रस्ताव संसदबाटै पास गर्ने प्रस्ताव पनि छलफलमै छ।
सरकारमा रहेका दलमध्ये जनमोर्चा कुनै सर्तमा पनि एमसिसीको पक्षमा आउने देखिएको छैन। जनता समाजवादीमा विवाद छ। डा बाबुराम भट्टराई र उपेन्द्र यादवको धारणा बाझिएका छन्। तर एकीकृत समाजवादीको निर्णयले संसद्मा टेबल गर्न दिने विषयमा अन्य दल पनि सहमतिमा आउन दबाब भने बढाएको छ।
फागुन ७, २०७८ शनिबार १६:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।