बालकुमारीको मूर्ति चोरलाई कारबाही गर्न गृहमन्त्री खाँणको निर्देशन

काठमाडौँ : गृहमन्त्री बालकृष्ण खाँणले ललितपुर महानगरपालिका वडा नं २७ सुनाकोठीको बालकुमारी मन्दिरको बालकुमारी माताको मूर्ति चोरलाई कारबाही गर्न निर्देशन दिएका छन्।
शनिवार सुनाकोठीको बालकुमारी मन्दिरको चोरी भएको बालकुमारी माताको मूर्ति पुनः स्थापना, क्षमा पूजा र अनुसन्धानमा संलग्न पदाधिकारीलाई सम्मान कार्यक्रममा गृहमन्त्री खाँणले सार्वजनिक सम्पत्तिको सुरक्षामा गतिशील भएर लाग्न ललितपुरको प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिए।
‘सार्वजनिक सम्पत्तिको खोजीनिती गर्न ललितपुर प्रहरी अझै गतिशील भएर लागोस्। मूर्ति चोरी गर्ने चोरहरू कारबाहीमा परुन्। म गृह मन्त्रालयको तर्फबाट उहाँहरूलाई निर्देशन दिन चाहन्छु,’ गृहमन्त्री खाँणले भन्नुभयो।
मन्दिरको सुरक्षाका लागि मन्दिर व्यवस्थापन समितिका पदाधिकारीसँग बसेर ललितपुरका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरूले कार्य योजना बनाउन उनले निर्देशन दिए।
उनले मूर्ति चोरी हुने वातावरण नबनोस्, भन्ने सर्तकताका लागि र आवश्यक व्यवस्थापनका लागि पनि प्रशासन र सुरक्षा निकायका पदाधिकारीलाई निर्देशन दिए।
माघ ९ गते हराएको बालकुमारी माताको मूर्ति १९ दिनपछि माघ २८ गते भेटिएको थियो ।
गृहमन्त्री खाँणले नेपाली नागरिकको जीवन रक्षा गर्नु सरकारको पहिलो दायित्व भएको भन्दै नागरिकको अकालमा मृत्यु नहोस्, प्राकृतिक विपत्तिबाट मृत्यु नहोस् भन्नेमा सरकार सधैँ सतर्क र संवेदनशील रहेको बताए।
कार्यक्रममा उर्जामन्त्री पम्फा भुसाल, ललितपुर महानगरपालिकाका पदाधिकारीसहित ललितपुरका प्रमुख जिल्ला अधिकारी र जिल्लाका सुरक्षा निकायका पदाधिकारीको उपस्थिति थियो ।
फागुन ७, २०७८ शनिबार १३:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।