नगरपालिकाकाे अनुदानमा खरिद गरिएका बोका दशैंमा काटिएपछि स्थानीयले मागे क्षतिपूर्ति

बुटवल: नगरपालिकाको अनुदानमा अष्ट्रेलियाबाट खरिद गरी ल्याइएको बोका दशैंमा काटेर खाएपछि स्थानीयले त्यसको विरोध गर्दै क्षतिपूर्ति माग गरेका छन्। पश्चिम नवलपरासीको सुनवल नगरपालिकाको अनुदानमा खरिद गरिएको बोका दशैंमा किसानले काटेर खाएपछि त्यसको स्थानीयले विरोध गरेका हुन्।
खसी बोकामा नश्ल सुधार गर्न भन्दै सुनवल नगरपालिकाले अष्ट्रेलियाली प्रजातिको बोयर बोका खरिद गर्न गंगाराम गैरेलाई तीन लाख अनुदान उपलब्ध गराएको थियो। गैरेले ती बोका अष्टमीका दिन काटेर अन्यलाई पनि बिक्री गरेको स्थानीयले आरोप लगाएका छन्।
गैरेले बोकाको मासु प्रतिकिलो नौ सयका दरले बेचेका थिए।
सरकारी सम्पत्ति हिनामिना गरेको भन्दै दोषीलाई कारबाहीका लागि स्थानीयले नगरपालिकामा निवेदन नै दिएका छन्। नगरपालिकाले महँगो मूल्य तिरेर ल्याएको बोका स्थानीय जनप्रतिनिधिको मिलेमतोमा काटेर मासु खाएपछि स्थानीयहरू विरोधमा उत्रिएको सुनवल नगरपालिका–१३ का सूर्य न्यौपानेले बताए।
बोका पालक किसान गैरेले भने बिरामी भएका बोका वडा अध्यक्ष कृष्णप्रसाद देवकोटालाई सोधेर काटेको बताए। ‘बिरामी बोकालाई काटेर मासु बिक्री गरेको हो। तर मलाई कृषि र पशुपालन पेशाबाट असफल बनाउन अनावश्यक प्रचार गरियो’, उनले भने।
सुनवल नगरपालिकाका पशु विकास शाखा प्रमुख मिश्रीप्रसाद गिरीले बोका बिरामी भएकोले किसानले काटेको दाबी गरे। अनुदानको बोका हटाउनको लागि कार्यविधि नगरपालिकासँग नहुँदा काट्न आफूहरूले अनुमति भने नदिएको उनले बताए।
स्थानीय सरकारको ७० प्रतिशत र किसानको ३० प्रतिशत अनुदान कार्यक्रमअनुसार सुनवल नगरपालिकाको २ लाख ८० हजार र किसानको ७८ हजार रूपैयाँ लगानीमा सो बोका ल्याइएको थियो।
लुम्बिनी प्रदेश कृषि मन्त्रालयका पशु विकास अधिकृत हुमाकान्त पाण्डेले भने सरकारी अनुदानमा दिइएको बोका यसरी मौखिक सहमतिमा मात्र बिक्री वितरण गर्न नपाइने बताए।
कात्तिक २, २०७८ मंगलबार ०७:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।