'मेरो सम्पत्ति कति छ भन्ने बारे कन्फ्युज छु': दीपक मनाङे

'मेरो सम्पत्ति कति छ भन्ने बारे कन्फ्युज छु': दीपक मनाङे

पोखराः गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री दीपक मनाङेले आफूसँग कति सम्पत्ति छ भन्नेबारे ‘कन्फ्युज’ भएको बताएका छन्। आइतबार मन्त्री नियुक्त भएको ६० दिन पूरा भएको अवसरमा पत्रकार सम्मलेनमा बोल्दै मनाङेले यस्तो बताएका हुन्। 

‘मसँग सम्पत्ति छ, छैन भन्न मिल्दैन। कहाँ छ भन्दा, फस्ट 'वाइफ'लाई दिइसकेको छु, छोराहरूका नाममा राखिएको छ। अब त्यसलाई मेरो भनूँ भने समस्या आउँछ,’ उनले भने, ‘पहिला बिजनेस गर्दा केटाहरूलाई धेरै लगानी गर्दिन्थेँ। त्यस्तो लगानी गरेको पैसा मसँग आएको छैन्।’

उनले पुरानो सम्पत्तिमा मुद्दा रहेकोे बताउँदै सम्पत्ति शुद्धिकरणको मुद्दाबाट आफूले सफाइ पाइसकेको पनि बताए। 

गण्डकी प्रदेशका अन्य मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरे पनि मनाङेले अझै गरेका छैनन्। मन्त्री गुरूङको सचिवालयले भने सम्पत्ति विवरण सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुझाइने जनाएको छ। तर, अझै पैसा आउन बाँकी रहेकाले विवरण नपठाउन मन्त्री गुरूङले पत्रकार सम्मेलनमै सचिवालयका कर्मचारीलाई निर्देशन दिएका थिए।

भदौ २७, २०७८ आइतबार १७:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।