गण्डकी प्रदेश : अविश्वासको प्रस्ताव लम्ब्याउने दाउमा सत्तापक्ष

प्रदेश सभाको आज सवा १२ बजेपछि बस्ने बैठकमा बोल्नका लागि नाम टिपाएका २५ मध्ये १८ जना सत्तापक्षका सांसद रहेका प्रदेश सभा सचिवालयले जनाएको छ।
काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र पोखरेल नेपालीले हिजो मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव टेबुल गरेका छन्। अविश्वासको प्रस्तावमा हिजोदेखि नै छलफल सुरु भएको हो।
सत्ता पक्ष अविश्वास प्रस्ताव छिटो टुङ्गो नलगाउने दाउमा रहेकाले उसका धेरै सांसदले बोल्न नाम टिपाएका छन्। ‘आज बोल्न २५ जनाले नाम टिपाएका छन्,’ प्रदेश सभाका सचिव हरिराज पोखरेलले भने,‘१८ जना सांसद सत्तापक्षका छन्।’
बोल्न नाम टिपाउने सांसदलाई १० मिनेटका दरले समय निर्धारण गरिएको पोखरेलले बताए। नाम टिपाएका सबैले बोल्न समय लिए छलफल भोलि नै सकिने सम्भावना नरहेको उनले बताए।
छलफल सकिएपछि मुख्यमन्त्री गुरुङले प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिनेछन्। त्यसपछि अविश्वासको प्रस्तावमा मतदान हुनेछ।
६० सदस्यीय प्रदेश सभामा बहुमत पुर्याउन ३१ मत आवश्यक पर्छ। प्रदेश सभामा एमालेको २७, काँग्रेसका १५, माओवादी केन्द्रका १२ सांसद छन्। राष्ट्रिय जनमोर्चाका ३, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र एक सांसद छन्। ३ जना सांसद रहेको जनमोर्चाले छोडेपछि मुख्यमन्त्री गुरुङ अल्पमतमा परेका छन्।
वैशाख १४, २०७८ मंगलबार ०८:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।