फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य 

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य 

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। 

निगमले आज (मंगलबार) प्रेस विज्ञप्ति जारी गर्दै राति १२ बजेदेखि लागू हुने गरी डिजेल, पेट्रोल, मट्टितेल र आन्तरिक हवाई इन्धनमा प्रतिलिटर दुई रूपैयाँ बढाएको हो। 

यससँगै काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर ११४, डिजेल तथा मट्टितेल प्रतिलिटर ९७ र आन्तरिक हवाई इन्धन प्रतिलिटर ६७ रूपैयाँ कायम गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य क्रमिकरूपमा बढेका कारण मूल्य बढाइएको निगमले जनाएको छ। 

यसअघि निगमले गत माघ २८ गते पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रतिलिटर दुई रूपैयाँ र एलपी ग्यास प्रतिसिलिण्डर २५ रूपैयाँ बढाएको थियो। 

नयाँ मूल्य समायोजनपछि पनि पेट्रोलमा प्रतिलिटर ५.८२, डिजेलमा प्रतिलिटर ४.१३ र एलपी ग्यासमा प्रतिसिलिण्डर २९५.८३ रूपैयाँ घाटा रहेको र अर्धमासिकरूपमा ८६.७८ करोड रूपैयाँ घाटा नै रहने विज्ञप्तिमा उल्लेख छ। 

फागुन ४, २०७७ मंगलबार २२:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।