केरुङ नाकाबाट दैनिक ५ कन्टेनर मात्र सामान आयात, चीनसँग संवाद गर्न काँग्रेसको माग 

केरुङ नाकाबाट दैनिक ५ कन्टेनर मात्र सामान आयात, चीनसँग संवाद गर्न काँग्रेसको माग 

काठमाडौँ - कोरोना भाइरसको सङ्क्रमण फैलिए लगत्तै अन्तर्राष्ट्रिय सीमा नाका प्रवेशमा गरिएको कडाइ पूर्ण रूपमा हटेको छैन। छिमेकी भारतसँगको नाका सहज रूपमा सञ्चालन भए पनि चीनसँगको नाकामा कडाइ भइरहेको नेपाली व्यवसायीको गुनासो छ। 

चीनसँग सीमा जोडिएको रसुवाको केरुङ नाका २०७६ माघ १५ अगाडी जस्तै सञ्चालन हुन नसकेको नेपाल उद्योग वाणिज्य सङ्घ रसुवाका कार्यवाहक अध्यक्ष सुकसाङ तामाङले बताए। 

‘पहिला दिनमा ६०/७० कन्टेनर सामान मितेरी पुलमा आउँथ्यो, अहिले दैनिक ५ कन्टेनर मात्रै सामान आउँछ’ अध्यक्ष तामाङले उकेरासँग भने, ‘नाका पहिले जस्तो सहज नहुँदा नेपाली व्यापारीको अर्वौको लगानी अड्किएको छ।’

मितेरी पुलसम्म चिनियाँ कन्टेनरले सामान ल्याउँछन् भने त्यहाँबाट नेपाली कन्टेनरले ओसार्छन्। चिनियाँ ५ कन्टेनरमा ल्याएको सामान नेपाली १० कन्टेनर हुने तामाङ बताउँछन्। 

मितेरी पुलमा सामान लिन पुग्ने १ सय २० कन्टेनर मध्ये अहिले १० वटा मात्रै चलिरहेका छन्। सामान ओसार्नकै लागि कन्टेनरमा लगानी गरेका व्यापारी बैङ्कको ब्याज मात्रै तिर्न बाध्य भएको उनको भनाई छ। उनले चीनमा अर्डर गरेका सामान पनि ल्याउन नसकिएको बताए। 

कतैबाट पहल भएको छैन त? उनी भन्छन्, ‘पहल भएर नै दैनिक ५ कन्टेनर सामान आइरहेको हो, पहिले जस्तै ६०/७० कन्टेनर सामान आउनु पर्छ भन्ने पहलको चीन पक्षबाट सुनुवाइ भइरहेको छैन।’

२०७६ माघ १५ देखि असार २७ सम्म पूर्ण रूपले बन्द केरुङ नाका असार २७ पछि आंशिक खुला गरिएको थियो। 

काँग्रेसको माग 

नेपाली काँग्रेसले कोरोना भाइरसको सङ्क्रमण फैलिए लगत्तै आवागमनमा कडाइ गरिएको केरुङ नाकामा आयात निर्यात सहज बनाउन माग गरेको छ। चिनिया पक्षसँग यथाशीघ्र संवाद गरेर समस्याको समाधान खोज्न नेपाल सरकारसँग काँग्रेसको माग छ। 

चीनको वुहानबाट कोरोना भाइरसको सङ्क्रमण फैलिए लगत्तै अन्तर्राष्ट्रिय सीमा नाका प्रवेशमा कडाइ र आवागमन बन्द गरिनु तत्कालको परिस्थितिको बाध्यता र आवश्यक रहेको काँग्रेसले उल्लेख गरेको छ। 

‘तर तुलनात्मक रूपले स्थिति सहज बनेको अवस्थामा पनि उत्तरी सीमाको प्रमुख व्यापारिक नाका केरुङमा नागरिक र व्यवसायीहरूले दुःख पाइरहेको विवरण निरन्तर प्राप्त भइरहेको हुँदा काँग्रेस यसप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ’ प्रवक्ता विश्वप्रकाश शर्माले निकालेको विज्ञप्तिमा उल्लेख छ।

फागुन २, २०७७ आइतबार १३:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।