सरकारले घटायो बजेटको आकार, १३ खर्ब ४४ अर्ब खर्च हुने प्रक्षेपण

काठमाडौं : सरकारले चालु आर्थिक वर्षको बजेटको आकार घटाएको छ।
अर्थमन्त्रालयले आज (मंगलबार) गरेको बजेटको अर्धवार्षिकी समीक्षामा अर्थमन्त्री विष्णु पौडेलले चालू आर्थिक वर्षको बजेटको आकार घटाएका हुन्। उनले चालू आर्थिक वर्षमा १३ खर्ब ४४ अर्ब ६८ करोड बजेट खर्च हुने प्रक्षेपण गरेका छन्। यो चालु आर्थिक वर्षको विनियोजित बजेटको करिब ९१.१९ प्रतिशत हो।
सरकारले संसद्मा प्रस्तुत गर्दा चालू आर्थिक बर्षको बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड रूपैयाँ निर्धारण गरेको थियो।
अर्थमन्त्री पौडेलले संसोधित बजेटमा निर्वाचन तथा कोभिड खोपमा लाग्ने खर्चसमेत जोडिएको बताए। त्यस्तै, दायित्व तथा पूर्वसहमति दिएका आयोजनाहरूको बजेट कटौती नहुने उनको भनाइ छ।
संसोधित प्रक्षेपण अनुसार चालुतर्फ ९ खर्ब १४ अर्ब ७८ करोड रूपैयाँ तथा पुँजीगततर्फ २ खर्ब ८३ अर्ब ४ करोड रूपैयाँ र वित्तीय व्यवस्थातर्फ १ खर्ब ४६ अर्ब ८६ करोड रूपैयाँ विनियोजन गरिएको छ।
त्यस्तै, चालु आवको संसोधित अनुमान अनुसार राजस्व र आन्तरिक ऋण १० खर्ब ७४ अर्ब ६८ करोड, वैदेशिक अनुदानतर्फ ३५ अर्ब रूपैयाँ र वैदेशिक ऋणतर्फ २ खर्ब ३५ अर्ब रूपैयाँ हुने उल्लेख छ।
माघ २७, २०७७ मंगलबार १७:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।